उदयपुरः उदयपुरको वेलका नगरपालिका–८ स्थित हात्तीसार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी नै खयर तस्करीमा संलग्न रहेको रहस्य सार्वजनिक भएको छ । समुहको घाटगद्दी अनुगमनका क्रममा अनाधिकृत रुपमा काटिएका ६ सय ६६ थान खयर काठ फेला परेपछि रहस्य सार्वजनिक भएको हो ।
गत असार १४ गते सब–डिभिजन वन कार्यालय मैनामैनीका कर्मचारीहरूले समुहको घाटगद्दी अनुगमन गरेका थिए । अनुगमनका क्रममा स्वीकृति दिइएको संकलन सहमति भन्दा बाहिर रहेको खयर जातका ४४९.८२ क्यू.फिट काठ फेला परेको हो । सो घटना सम्बन्धी प्रतिवेदन डिभिजन वन कार्यालय, गाईघाटमा पेश गरिएको छ ।
यस घटनालाई गम्भीर मानेर वन अधिकृत राजेन्द्रप्रसाद यादवको नेतृत्वमा अनुशन्धान सुरु गरिएको छ । छानबिनपछि सम्बन्धित व्यक्ति विरुद्ध मुद्दा दायर गरिने वन कार्यालयले जनाएको छ । वन कार्यालयले आन्तरिक खपतका लागि भन्दै खयरका २ हजार १६९ थान (१२१२.१९ क्यू.फि.) सालका ९९ थान (९६६.४४ क्यू.फि.) र अन्य जातका ४० थान (३९०.४३ क्यू.फि.) काठ कटानका लागि स्वीकृती दिएको थियो ।
तर वरामद भएको खयर त्यो भन्दा वाहेकको हो । स्विकृति दिए भन्दा थप ६६६ थान खयर काठ कटान गरिएको र त्यसको यथार्थ विवरण समुहले लुकाइएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । डिभिजनल वन कार्यालय उदयपुरका डिभिजनल वन अधिकृत रामभगत यादवले घट्नाको अनुशन्धान भई रहेको जानकारी दिएको छ । यो खबर राजधानीबाट लिइएको हो ।