काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्टिङ अपरेसन सञ्चालन गरी भक्तपुर र पोखराबाट चार जना कर्मचारीलाई पक्राउ गरेको छ ।

अख्तियारले भक्तपुरको मालपोत कार्यालयस्थित भूमिसुधार शाखाबाट प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ भने पोखराको यातायात कार्यालयबाट एक जना पक्राउ परेका हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र जग्गाधनीको लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको हो ।

घुस लिँदै छन् भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य, भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टीकाराम राउतलाई पक्राउ गरेको हो ।

कार्यालय प्रमुख आचार्यका साथबाट मोबाइल डिभाइस दुई थान, भूमिसुधार शाखाका नायब सुब्बा अधिकारीको साथबाट मोबाइल एक थान र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल एक थानसहित २४ लाख ५० हजार रुपैयाँ घुस रकम नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

अख्तियारको नियन्त्रणमा परेका ५४ वर्षीय आचार्य कार्यालय प्रमुखका रूपमा गत वर्षको ३० असारमा भैरहवा मालपोत कार्यालयबाट भक्तपुरमा सरुवा भएर आएका थिए । सरुवा भएको १ वर्ष नाघेलगत्तै उनी अख्तियारको हिरासतमा पुगेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर भूमिसुधार शाखामा प्रमुख मालपोत अधिकृतका रूपमा कार्यरत आचार्य उदयपुर बेलका नगरपालिका–४ हरिपुरका स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौं कागेश्वरी मनहरा–७ फोर्सपार्क टोलमा बस्दै आएका छन् । उनलाई भक्तपुर नगरपालिका–२ व्यासीस्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

यसैगरी, नायब सुब्बा अधिकारी र कार्यालय सहयोगी राउतलाई पनि भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर शाखा व्यासीबाटै नियन्त्रणमा लिइएको हो ।

भक्तपुर चाँगुनारायण नगरपालिका–९ राउत टोल घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली बस्ने राउत कार्यालय सहयोगीका रूपमा कार्यरत थिए ।

उनले नै कार्यालय प्रमुखका लागि घुसको व्यवस्थापन गर्ने गरेको उजुरी परेपछि स्टिङ अपरेसन चलाइएको थियो । उनीको साथबाट नगद २४ लाख ५० हजार रुपैयाँ बरामद गरिएको थियो ।

कार्यालय प्रमुख आचार्यले सामान्यतया दुगुरेस्थित मालपोत शाखामा बसेर कार्य सम्पादन गर्ने गर्दै आएका भए पनि मंगलबार भने व्यासीस्थित भूमिसुधार शाखामा बसेर काम गरिरहेका थिए । विगतमा मालपोत र भूमिसुधार छुट्टाछुट्टै निकाय हुने गरेकामा ५ वर्षदेखि एउटै कार्यालयका रूपमा एकीकृत गरिएको छ । भक्तपुरमा अहिले पनि मालपोत शाखा र भूमिसुधार शाखाका छुट्टाछुट्टै ठाउँमा कार्यालय व्यवस्था गरिएको छ । दुवैका कार्यालय प्रमुख भने एउटै व्यक्ति हुने व्यवस्था रहेको छ ।

कास्कीबाट पनि कार्यालय सहयोगी पक्राउ

अख्तियारले मंगलबार नै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई पक्राउ गरेको छ ।

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुसबापत रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले कार्यालय सहयोगी पौडेललाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग ७ हजार रुपैयाँ लिइसकेको अवस्थामा सो रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०८१–८२ मा २१ वटा स्टिङ अपरेसन

अख्तियारले चालू आर्थिक वर्षमा २१ वटा स्टिङ अपरेसन सञ्चालन गरी ३३ जनालाई हिरासतमा लिएको तथ्यांक रहेको छ ।

विगतमा तल्लो तहका कर्मचारीलाई मात्र स्टिङ अपरेसन गरी हिरासतमा लिने गरेको आरोप खेप्दै आएकामा अख्तियारले मंगलबार भने कार्यालय प्रमुखलाई नै नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरूले सार्वजनिक पदाधिकारी वा कर्मचारीले घुस माग्दा गोप्य रूपमा घुस प्रदान गरेर त्यसलाई प्राप्त गर्ने क्रममा पक्राउ गर्ने कार्यलाई स्टिङ अपरेसन भन्ने गरेको छ ।

अख्तियारले २१ वटा अपरेसन गर्दा वडाध्यक्ष, ट्राफिक प्रहरी, नगरपालिकाका प्रशासकीय अधिकृत, शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतलाई नियन्त्रणमा लिई मुद्दा चलाएको तथ्यांक रहेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।