धरानः सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधामको मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको छ। साउनको पहिलो सोमबार यस मन्दिरमा सप्तकोशी नदीबाट जल ल्याएर देश, विदेशबाट हिन्दुधर्म मान्ने भक्तजनहरूले शिवलिंगमा चढाउने गर्छन्।

सुनसरीको पशुपतिनाथले चिनिने पिण्डेश्वर बाबाधाममा साउन १ गतेदेखि बोलबम मेला लाग्ने गर्छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जल चढाएर मेलाको उद्घाटन गरेका थिए। सोमबार पिण्डेश्वर बाबाधामको शिवलिंगमा ३० हजार भक्तजनले जल चढाएका पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले बताए।

पिण्डेश्वर बाबाधाम भगवान् शिवको पवित्रधाम हो। यहाँ स्थापित शिवलिंग अत्यन्तै शक्तिशाली र पूजनीय मानिन्छ। यहाँ प्रत्येक सोमबार, विशेषगरी साउन महिनामा हजारौं भक्तजनको भीड लाग्ने गरेको पनि अध्यक्ष बनेपालीले बताए। प्रत्येक साउने सोमबार हिन्दु धर्मावलम्बीहरू विशेष पूजाआजा र व्रत गरेर बाबाधाममा जल चढाउँछन्। गेरु वस्त्र लगाएर सप्तकोशी नदीमा खाली खुट्टा हिँडेर पवित्र जल ल्याई पिण्डेश्वरको शिवलिंगमा जल चढाउँदा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको समितिका सदस्य सुनील अग्रवालले बताए।

विवाहित महिला पुरुष आफ्नो पतिपत्नीको दीर्घजीवन र अविवाहित युवा युवती राम्रो वरवधू पाउँ भन्दै पिण्डेश्वरको शिवलिंगमा जल चढाउने गर्छन्। नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट बढी मात्रामा भक्तजन आउने गरेका छन्। पिण्डेश्वर मन्दिरमा महाशिवरात्रिमा विशेष पूजाआजा, मेला र रात्रिभर जाग्राम आयोजना गरिन्छ। हरितालिका तीजमा यहाँ महिला भक्तजनहरूको ठूलो भीड लाग्ने गरेको छ।

पिण्डेश्वर बाबाधाममा स्थानीय बासिन्दाले धार्मिक समारोहहरू, पूजाआजा, विवाह, व्रतबन्ध, सत्संगजस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्छन्। ‘यसले यस क्षेत्रको धार्मिक–सांस्कृतिक चेतना बढाएको छ’, अध्यक्ष बनेपालीले भने। पिण्डेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेपछि सुनसरीका विभिन्न स्थानबाट प्रहरीहरू परिचालन गरी शान्ति सुरक्षा मजबुत पारिएको एसपी सुमनकुमार तिम्सिनाले बताए। भक्तजनको सुविधाको लागि माडबारी सेवा समाज, धरान मनिहारीलगायतका संस्थाहरूले निःशुल्क खाजा र पानीको व्यवस्थापन गरेका थिए। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकबाट लिइएको हो ।