सुनसरी । असार ३० गतेको मध्य बिहानीमा नेपाल-भारतको सीमाको दशगजामा पर्ने सुनसरी जिल्लाको हरिनगर गाउँपालिकाको वडा नं. ६ घुस्कीमा गोली चल्यो । गोली लागेर हरिनगर गाउँपालिका–६ घर भएकी १८ वर्षीय अर्सी खातुनको घटनास्थलमै मृत्यु भयो । उनलाई अरू कोही नभई आफ्नै भिनाजु नाता पर्ने भारतको पुर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६, घुर्नाका २९ वर्षीय आजाद मिया जटले गोली हानेका थिए । भिनाजुले हानेको गोली अर्सीको दाइने गाला छेडेर टाउको बाहिर निस्किएको थियो । प्रहरी अनुसन्धानले भिनाजु पर्ने आजादले घरमै उनी सुत्ने काठामा छिरेर घरेलु पेस्तोल कटुवाले साली अर्सीमाथि गोली चलाएका थिए ।
घटनापश्चात् अन्दाजी केही मटर पारी मात्र रहेको दशगजा पार गरेर गोली प्रहार गर्ने आजाद भारत तर्फ सहजै फरार भए । घरमा बुवा आमा र साथमा दिदिसगैं सुतेकी अर्सीलाई आफ्नै भिनाजुले किन गोली प्रहार गरे भन्ने विषय अझै यकिनका साथ बाहिर आएको छैन । विभिन्न कोणबाट अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । आजाद असार २९ गते साँझ सालीको घर अर्थात् आफ्नो ससुराली आएका थिए । ससुराली आउने क्रममै आजाद मादक पदार्थ सेवन गरेर आएको दाबी गरिएको छ । मापसे सेवन गरेका उनले बिहान करिब २:३० बजे सालीसँग विवाद गरे, विवादकै क्रममा गोली हाने र भारत तर्फ फरार भए ।
घटनापश्चात् जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्यक्षदर्शी आफन्तहरूको बयानको आधारमा गोली चलाउने २९ वर्षीय आजाद मिया जटनै भएको किटानका साथ आजादको खोजी गरिरहेको छ ।
कमजोर सुरक्षाले फरार
नेपालमा घटना घटाएर केही क्षणमै दोस्रो देश भारत तर्फ फरार हुनुमा आजादलाई नेपाल-भारतबिचको खुल्ला सीमा सहज माध्यम बनेको थियो । घटनास्थलको भूगोल अनुसार अर्सीलाई गोली हानेको घटनास्थल अर्थात् घरदेखि दुई देशको दशगजा झन्डै ४० मिटरको दुरी मात्र छ । अर्थात्, गोली हानेर दशगजा पार गरेर भारतको सीमा प्रवेश गर्न पैदल मार्फत बढीमा बढी १० देखि १५ मिनेटको मात्र समय लाग्छ । घुस्कीबाट गोली हानेर आजाद भागेर बिहान तीन बजे आसपास भारतको घुर्ना बजार छिरिसकेका थिए ।
जसमा गोली प्रहार गर्ने आजादलाई भारत छिर्न कुनै अवरोध सामना गर्नु परेन । तर अन्तरदेशीय सीमाको दशगजा क्षेत्रमा दुई देशको सुरक्षाकर्मी डिउटीमै रहँदा कसरी उनी फरार भए त ?
२४ औ घण्टा दशगजाको सीमा सुरक्षा, अवैध घुसपैठ र तस्करी रोक्न परिचालित सुरक्षाकर्मीले आजाद भागेको देखे कि देखेनन् भन्ने विषय अनुसन्धान गरिनु पर्ने स्थानीयहरूको माग छ । त्यसमा पनि उनी भारतीय प्रहरीको फरार सूचीका अपराधी हुन । भारतको एउटा अपराधी कसरी हतियार सहित नेपाल प्रवेश गर्यो र आफ्नै सालीको जघन्य हत्या गरेर सहजै कसरी भारत फरार भयो भन्ने विषयमा अनुसन्धान हुन आवश्यक रहेको घुस्कीका स्थानीय मुकेश राम भगतको तर्क छ । ‘सीमामा खटिने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको युनिट जो असार ३० गते घुस्की बोर्डर क्षेत्रमा परिचालित थिए, उनीहरूको छानबिन होस’ भगतले भने ‘किन भने यो एउटा गम्भीर सुरक्षा चुक हो ।’

पक्राउ गर्न कानुनी जटिलता
यो प्रकरणमा गोली प्रहार गर्ने अभियुक्त आजादलाई पक्राउ गर्न सुनसरी प्रहरीलाई कानुनी जटिलता हुने देखिएको छ । जसको कारण भारत तर्फ फरार भएका उनलाई दुई देशबिचको संवेदनशीलता र प्राविधिक समस्याले उनी तत्कालै पक्राउ नपर्न सक्छन् । यसमा प्रबिधिक समस्या भनेकै दुई देशको सुपुर्दगी र पारस्परिक कानुनी सहायता सन्धिको अन्यौलता हो । अर्थात्, सुनसरीमा गोली हानी भारत फरार भएका आजादलाई दोस्रो देशमा पक्राउ गर्न नेपाली सुरक्षाकर्मीलाई सुपुर्दगी सन्धिले रोक्छ । त्यसमा पनि आजाद भारतीय नागरिक हुन ।
भारतले जस्तो सुकै जघन्य अपराध गरेका आफ्ना नागरिकलाई हत्तपत्त दोस्रो देशलाई सुपुर्दगी गर्दैन । र पक्राउ गर्न अनुमति पनि दिँदैन । यही दुई देशबिचको सुपुर्दगी सन्धिको कारण सालीको हत्या गर्ने आजादलाई तत्कालै पक्राउ गर्न सुनसरी प्रहरीलाई चुनौती हुने देखिएको हो । त्यसो त गोली प्रहार गर्ने आजाद भारतको पुर्णिया प्रहरीको अपराधीक सुचीमा परेका व्यक्ति हुन । पुर्णिया जिल्लाका विभिन्न स्थानमा चोरी, डाँका तथा फिरौती सम्बन्धी धेरै मुद्दामा आजाद फरार अभियुक्त हुन ।
यद्यपि यो घटनामा भारतीय सुरक्षा निकायहरूसँग जिल्ला प्रहरी कार्यालय सुनसरीले आजादलाई पक्राउ गरेर नेपाल ल्याउन औपचारिक र अनौपचारिक पहल गरिरहेको छ । यसमा भारतीय सुरक्षा निकायका एजेन्सी र प्रहरीले चासो पूर्वक अनि सकारात्मक प्रतिक्रिया दिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताएका छन् । यदि सुपुर्दगी सन्धिको कारणले जटिलता भए पनि भारतमा उनी पक्राउ परेर सजाय पाउनु पनि उपलब्धि हुने उनको भनाई छ ।
सीमा अपराध चुनौती डिआइजी
सीमा क्षेत्रमा हुने अपराध प्रहरीको लागि चुनौती बनिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्की बताउँछन् । ओपन बोर्डरले गर्दा भारतमा अपराध गर्नेहरू नेपालमा र नेपालमा अपराध गर्ने भारतमा आश्रय लिने गर्दा सुरक्षा चुनौती बढिरहेको उनी बताउँछन् । घुस्की हत्या प्रकरणमा अपराध गरेर अभियुक्त भारत फरार भएको अवस्था छ । हत्यामा संलग्न व्यक्ति भारतमा समेत वान्टेड भएको कारण ढिलो चाँडो पक्राउ पर्ने डिआइजी कार्कीको भनाई छ ।