उर्लाबारीः  ओठमाथि जुँघाको रेखी बस्दै गर्दा १९ वर्षको उमेरमा खोटाङको दिक्तेलबाट वैदेशिक रोजगारीमा दुबई गएका रामकुमार दाहाल यतिबेला केराको दाम्चाबाट रेसा निकालेर नेपालमै खाडीको कमाई खोजिरहेका छन्। 

वैदेशिक रोजगारीमा १५ वर्षको अनुभव बटुलेका दाहाल अहिले ३५ वर्षको भए । गत वर्षको दसैँमा घर फर्केपछि स्वदेशमै केही उद्यम गर्ने मनसायले उनी खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लागेका छन् । विदेशको कमाइले मोरङको कानेपोखरी–७, चालिसबिघेमा घरखेत जोड्नुभएका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा (धागो) निकालेर बिक्री गरिरहेका छन् । त्यसका लागि उनले अढाई लाख रुपियाँ खर्चेर रेसा निकाल्ने मेसिन खरिद गरे । 

गाउँमा केराको व्यावसायिक खेती हुने गरेको छ । वरिपरि सय बिघाभन्दा बढी जग्गामा केरा खेती हुने गरेकाले उनलाई कच्चा पदार्थको अभाव कहिल्यै भएको छैन । सुरुका दिनमा निःशुल्क पाइने केराको थाम पनि अहिले बिघाको सात हजार रुपियाँका दरले किन्नुपर्ने भएको छ । 

दाहालले भने, “फल निकाल्ने बित्तिकै खबर आउँछ । थाम ल्याएर दाम्चा निकाल्दै मेसिनमा हाल्नु पर्छ । त्यसपछि घाममा सुकाउनु पर्छ ।” दाहालका अनुसार रेसाको बजार मूल्य प्रतिकेजी १५० रुपियाँ छ । 

गत माघदेखि हालसम्म सात सय किलो रेसा बिक्री गरिसकेको दाहालले जानकारी दिए । अरू तयारी हुँदै छ । 

सुरुका दिनमा दुई जना कामदार राखेर रेसा निकालेका दाहालले मौसम प्रतिकूल भएपछि परिवारका सदस्यले मात्र काम गरिरहेको बताए । उनले भने, “घाममा मज्जाले नसुकाए कुहिन सक्छ । मौसम अनुकूल भएपछि कामदार राखेर नेपाली कागज र कम्पोस्ट मल उत्पादन गर्ने तयारी गरिरहेको छु । छरसात महिनाको अनुभवले महिनाको ४०र४५ हजार रुपियाँ कमाउन विदेश गइरहनु नपर्ने रहेछ भन्नेमा पुगेको छु ।” २०र२२ लाख लगानी गरेर व्यवसाय थाल्ने तयारी गरेका दाहालले भने, “व्यवसाय चलेन भने पासपोर्ट छँदै छ । फेरि लाग्ने हो, खाडीतिर ।”    यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।