इटहरी: राष्ट्रिय स्वतन्त्र पार्टीका सुनसरी जिल्ला सभापति जीवन कुमार श्रेष्ठले आइतबार(आज) पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले सामाजिक सञ्जाल आफ्नो नामको फेसबुक पेजमार्फत पदबाट राजीनामा दिएको सबैलाई जानकारी दिएका छन् । उनको राजीनामासँगै रास्वपा सुनसरीको भाँडभैलो सहमतै आएको छ । 

पार्टी नेतृत्वका केही व्यक्तिहरूबाट प्रेरित व्यक्तिगत रिसिबी, गुटगत सोच, अनुशासनको नाममा गरिएको प्रतिशोधपूर्ण कार्य, मेरो योगदानप्रति गरिएको उपेक्षा र जिल्लाभित्रको अस्वस्थ राजनीतिक अभ्यासले आफूलाई   गम्भीर रूपमा आहत तुल्याएको जनाउँदै श्रेष्ठले जिल्ला सभापति पदबाट राजीनामा दिएका हुन् । 

उनले बारम्बार रास्वपा कोशीका महामन्त्री लालविक्रम थापा लगायत पदाधिकारीहरूको कार्यशैली प्रति आवाज उठाउँदै आएका थिए । पार्टीलाई उदोगतितर्फ लगिरहेको विषयमा श्रेष्ठले प्रदेश र केन्द्र तहसम्म जायज कुरा उठाउँदा उनलाई रास्वपा कोशिकै सिफारिसमा जिल्ला सभापतिबाट निलम्बन गरिएको थियो । उनीसँगै इटहरी सभापति विष्णु बस्नेतलाई समेत निलम्बन गरिएको थियो । दुई नेतालाई व्यक्तिगत रिसिबी र गुटगतका कारण निलम्बन गरिएपछि रास्वपा सुनसरीमा नै ठुलो विवाद उत्पन्न भएको थियो ।

रास्वपाको केन्द्रीय कार्यालयले विवाद र चरम असन्तुष्टिका बिचमा श्रावण १० गते इटहरी नगर अधिवेशनका लागि मिति तोकेको थियो । सोका विरुद्ध निलम्बित इटहरी नगर सभापति विष्णु बस्नेतले अधिवेशन रोक्न माग गर्दै श्रेष्ठलाई विपक्षी बनाई उच्च अदालत विराटनगरमा परमादेशका लागि निवेदन दिएका थिए । अदालतले १२ गतेका लागि प्रमाण सहित १२ गते अदालत उपस्थित हुन परमादेश जारी गरेको थियो । परमादेशका कारण १० गते तोकिएको नगर अधिवेशन रोकिएको थियो ।

१२ पछिको पूर्ण छलफलले रास्वपा लाई इटहरी नगर अधिवेशन गर्न बाटो खोलिदिएको थियो । अदालतले बाटो खोलेकै दिन रास्वपाको केन्द्रीय समितिले १७ गते शनिवारलाई नगर अधिवेशन तोकेको थियो । 

शनिवार(हिजो) रास्वपाका दुई केन्द्रीय नेताहरूको सहभागितामा नगर अधिवेशन समेत सम्पन्न भइसकेको छ । रास्वपाका केन्द्रीय नेता हरि ढकाल, सन्तोष परियार लगायतको सहभागितामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशन सकिएको भोली पल्ट अर्थात् आइतबार निलम्बित जिल्ला सभापति श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा पत्रमा घुमाउरो हिसाबमा पार्टीको प्रदेशमा नेतृत्व गरिरहेका नेताहरूका कारण पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गरेका छन् । 

WhatsApp Image 2025-08-03 at 08.59.15_36745aa3

श्रेष्ठले राजीनामा पत्रमा भनेका छन्—‘गुटगत आधारमा पालिका स्तरको अधिवेशन सम्पन्न गरियो ।  मेरो पक्षबाट विवाद समाधानका प्रयास पटक–पटक गरिए पनि उपेक्षा गरिएको छ ।’

जिल्ला समितिको नाममा आफ्नै नातेदार, निकट वर्तीहरूलाई स्थापित गर्दै, सङ्गठन निर्माणका नाममा असक्षम, कार्यदक्षता रहित समूहमार्फत अधिवेशन अघि बढाइएकाले योग्य र प्रतिबद्ध कार्यकर्ताहरूलाई वञ्चित गराएको उनले दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

पार्टीको आचारसंहिता, विधान र सिद्धान्तको नेतृत्वकर्ताबाटै बारम्बार उल्लङ्घन गरिएको जनाउँदै उनले आफूले  उठाएका प्रश्न र सन्देशहरूलाई पार्टीको नेतृत्वकर्ताहरुले बेवास्ता गर्दै गरिएको व्यवहारले आफुलार्ई गम्भीर निर्णयमा पुग्न बाध्य बनाएको राजीनामा पत्रमार्फत दाबी गरेका छन् । 

उनले राजीनामा पत्र मार्फत भनेका छन्—‘पार्टीको केन्द्र, प्रदेश र स्थानीय तहमा विद्यमान समस्याहरूको समाधान होस् । राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पनि एक सशक्त, परिवर्तनकारी र नीतिगत पार्टीको रूपमा पुनः स्थापना पाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

WhatsApp Image 2025-08-02 at 12.33.23_a059a171



यस्तो छ, श्रेष्ठले दिएको राजीनामा

विषय: राष्ट्रिय स्वतन्त्र पार्टी, सुनसरी जिल्ला सभापति पदबाट राजीनामा सम्बन्धमा

म, जीवन कुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा मलाई दिइएको सुनसरी जिल्ला सभापतिको जिम्मेवारी पदबाट आजको मितिदेखि राजीनामा दिँदै, अबदेखि सामान्य सदस्यको रूपमा मात्र रहने निर्णय लिएको जानकारी गराउन चाहन्छु।

पार्टी नेतृत्व, सम्पूर्ण सहयात्री साथीहरू, शुभेच्छुक तथा पार्टीमा कार्यरत सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु। करिब ३७ महिनाको मेरो राजनीतिक यात्रामा तपाईँहरूको साथ, सहयोग र विश्वासका लागि आभारी छु।

यस यात्राको क्रममा मेरा तर्फबाट कुनै कमजोरी, त्रुटि, वा असजिलो अवस्था सिर्जना भएको भए, त्यसका लागि म क्षमा प्रार्थी छु। राजनीतिक विचार र दृष्टिकोणमा फरक हुनु स्वाभाविक हो। त्यसबाट उत्पन्न कुनै असमझदारी वा तिक्तताले व्यक्तिगत रिस र राग नहोस् भन्ने स्पष्ट पार्न चाहन्छु।

तर, हालको अवस्थामा पार्टी नेतृत्वका केही व्यक्तिहरूबाट प्रेरित व्यक्तिगत रिसी इवी, गुटगत सोच, अनुशासनको नाममा गरिएको प्रतिशोधपूर्ण कार्य, मेरो योगदानप्रति गरिएको उपेक्षा र जिल्लाभित्रको अस्वस्थ राजनीतिक अभ्यासले मलाई गम्भीर रूपमा आहत तुल्याएको छ।

   २०७९ मा सङ्घीय उम्मेदवारको अभाव भएको अवस्थामा, मैले क्षेत्र नं. १ मा अर्को पात्रलाई उम्मेदवारी सुम्पेर, आफैँ क्षेत्र नं. ४ मा उम्मेदवार बनेर पार्टीको पक्षमा सम्पूर्ण शक्ति लगाएर काम गरेँ।

   सो योगदानको प्रति फलस्वरूप मलाई निलम्बनको उपाधि दिइयो र म स्वयंलाई समेत प्रतिवादी बनाउँदै २०८२/०४/०७ गते उच्च अदालत मोरङ, विराटनगरमा रिट दायर गरियो। म वकिल समेत राख्न नसक्ने स्थितिमा हुँदा, मेरो पक्षमा पार्टीबाट कुनै पहल गरिएन। पार्टी नेतृत्वले संवाद गर्नसमेत आवश्यक ठानेनन्।

 गुटगत आधारमा पालिका स्तरको अधिवेशन सम्पन्न गरियो। मेरो पक्षबाट विवाद समाधानका प्रयास पटक–पटक गरिए पनि उपेक्षा गरिएको छ।

जिल्ला समितिको नाममा आफ्नै नातेदार, निकट वर्तीहरूलाई स्थापित गर्दै, सङ्गठन निर्माणका नाममा असक्षम, कार्यदक्षता रहित समूहमार्फत अधिवेशन अघि बढाइएको छ, जसले योग्य र प्रतिबद्ध कार्यकर्ताहरूलाई वञ्चित गराएको छ।

यस प्रकारका कार्यहरू स्पष्ट रूपमा पार्टीको आचारसंहिता, विधान र सिद्धान्तको उल्लङ्घन हुन्। मैले उठाएका प्रश्न र सन्देशहरूलाई बेवास्ता गर्दै गरिएको व्यवहारले मलाई गम्भीर निर्णयमा पुग्न बाध्य बनाएको हो।

अतः, म आजकै मितिबाट जिल्ला सभापतिको जिम्मेवारी परित्याग गर्दै, आगामी जिल्ला अधिवेशनमा भाग नलिने घोषणा समेत गर्दछु।

शुभेच्छा

पार्टीको केन्द्र, प्रदेश र स्थानीय तहमा विद्यमान समस्याहरूको समाधान होस्। राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पनि एक सशक्त, परिवर्तनकारी र नीतिगत पार्टीको रूपमा पुनः स्थापना पाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।

राजनीतिक जिम्मेवारीको अन्त्य भए पनि मेरो आवाज सधैँ नैतिकता, सुशासन र बेथितिविरुद्ध उठिरहनेछ।

जय नैतिकता, जय सुशासन !

धन्यवाद।

जीवन कुमार श्रेष्ठ

पूर्व जिल्ला सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी, सुनसरी

मिति: २०८२/०४/१८ गते,आइतबार