सुनसरी : धनकुटामा गाँजा तस्करी रोक्न खोज्नेहरूलाई नै पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत वैशाख १५ गते धनकुटाको चौबिसे गाउँपालिका ५ बोधेबाट ९४६ केजी अवैध गाँजा लोड भएको ट्रक र तस्करीको नाइकेलाई स्थानीय युवाहरूले रङगेहात नियन्त्रणमा लिएका थिए । ना ५ ख ६१५७ नम्बरको ट्रकमा गाँजा लोड भई तस्करी हुन लागेको अवस्थामा युवाहरूले तस्करी गर्ने मुख्य नाइके मनोज लिम्बु, ट्रक चालक र अन्य केहीलाई सुरेन लिम्बुको समूहले राती १२ बजेको समयमा बोधेबाट नियन्त्रणमा लिएका थिए । पछि सुरेन समूहले नियन्त्रणमा लिएको गाँजासहितको ट्रक प्रहरीले बरामदीरखानतलासी मुचुल्का उठाएर आफ्नो नियन्त्रणमा लिएको थियो । तर घटनाको अनुसन्धानको क्रममा तस्करी रोक्न खोज्ने र प्रहरीलाई सूचना दिने स्थानीय सुरेन लिम्बु र प्रदीप लिम्बुलाई उल्टै तस्करीमा मुछेर प्रतिवादी बनाइ कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले यो घटनामा तस्करी गर्ने मनोजसहित ६ जनालाई अभियुक्त बनाइएको थियो । लागुऔषध मुद्दामा प्रतिवादी बनाइएकाहरूमा गाँजा नियन्त्रणमा लिने सुरेन लिम्बु, प्रदीप लिम्बु, विशाल याक्खा, भिमकुमार याक्खा र चालक महेश परियार छन् । साउन १२ गते धनकुटा जिल्ला अदालतको आदेशले ती ६ जना मध्ये तीन जनालाई पुर्पक्षको लागि कारागार पठाइएको हो । पुर्पक्षको लागि कारागार चलान हुनेमा गाँजा तस्करी गर्ने नाइके मनोज लिम्बु, सुरेन लिम्बु र प्रदीप लिम्बु छन् । अन्य तीन जना भने फरार छन् । 

धनकुटा प्रहरीले यो प्रकरणमा गाँजा बरामद गर्दा बनाइएको बरामदीरखानतलासी मुचुल्काको साक्षीहरू सुरेन र प्रदीपलाई नै प्रतिवादी बनाएको थियो । सुरेन र प्रदीप समूहले गाँजा तस्करी रोक्न गाउँ ठाउँमा अभियान चलाउने गर्दथे । 

Muchulaवैशाख १५ गतेको यो प्रकरणमा सुरेन समूहले भिडियो समेत बनाएका छन् । जसमा मनोज लिम्बुलाई नियन्त्रणमा लिएको र गाँजाको विषयमा केरकार गदै गरेको देखिन्छ । 

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

यो प्रकरणमा गाँजा तस्करी रोक्नु पर्छ भन्ने युवाहरूलाई नै कारागार चलान गरिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उजुरी समेत परेको छ । कारागार चलान हुने मध्येको सुरेनको दिदी मिरुना लिम्बुले प्रदेश प्रहरीमा उजुरी दिएको बताइएको छ । जस धनकुटा प्रहरी तस्करहरूको इशारामा लागेर तस्करी रोक्नेहरूलाई नै झुटो मुद्दा बनाई कारागार पठाइएको दाबी गरिएको छ । 


धनकुटा प्रहरीले तस्करहरूको योजनामा अभियन्ता साथीहरूलाई कारागार पठाइएको धनकुटाका सामाजिक अभियन्ता लाक्पा तामाङले आरोप लगाए ।  ‘तस्करी गर्दा गर्दा रङगेहात साथीहरूले ९४६ केजी गाँजासहितको ट्रक नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए, तर अहिले उल्टै वहाँहरू कारागार चलान हुनु भयो, ‘अभियन्ता तामाङले भने ‘यो शतप्रतिशत प्रहरी र गाँजा तस्करहरू बिचको सेटिङ हो ।’  धनकुटा प्रहरी, जनप्रतिनिधि तथा सांसद समेत तस्करहरूको संरक्षणमा रहेको तामाङको आरोप छ । अहिले गाँजा तस्करहरूले खुलेआम अभियन्ता साथीहरूका परिवारलाई ज्यान मार्ने धम्की दिइरहेको समेत तामाङ बताउँछन् ।

चौबिसे गाउँपालिका ६ का वडाध्यक्ष ताराबिर याक्खाका अनुसार बोधेको घटनामा गाँजा नियन्त्रणमा लिने युवाहरूको नियत अरू नै भएको बताए ।  ‘गाँजा तस्करी गर्नेहरू बिचको विवाद हो, यसलाई ठुलो विषय बनाइराख्नु जरुरी नहोला’ वडाध्यक्ष याक्खाले प्रदेश पोर्टलसँग भने ‘गाँजा यहाँको लागि जडीबुटी हो, यसलाई बैधानिक्ता दिनुपर्छ भन्ने आवाज उठिरहेको छ, बाँकी कुरा आफै बुझ्नुहोला ।’ 

सुराकी दिने र गाँजा नियन्त्रणमा लिने समूहलाई नै प्रतिवादी बनाइ कारागार पठाइएको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी निरीक्षक किशोर तामाङले प्रहरी अनुसन्धानले सबै दोषी देखिएको आधारमा प्रतिवादी बनाइएको बताए । ‘मुचुल्का उठाइपछिको अनुसन्धानले सबै दोषी छन्, गाँजासहितको ट्रक नियन्त्रणमा लिनुको उद्देश्य गलत छ’ तामाङले भने ‘बाँकी फरार तीन जनाको खोजी भइरहेको छ ।’