सङ्खुवासभाः सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सिमापास वितरण गरिरहेको छ । सिमा पास वितरण भएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका लागि र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ ।

२०८१ जेठ १२ उत्तरी क्षेत्र किमाथाङ्का नाका सहित १४ वटा एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि १ हजार ८२ बढी सिमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए ।

भोटखोला, मकालु सहित जिल्लाका विभिन्न पालिकाका नागरिकले एक हजार ८२ सिमापास मध्ये हालसम्म तीन सय ३३ सिमा पास नविकरण गरिएको साहयक प्रजिअ घिमिरेले बताए । भोटखोला र मकालु गाउँपालिका भित्र नागरिकले सिमापास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् ।

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का सहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । उत्तरी क्षेत्रमा किमाथाङ्कामा वि।स।२०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार २०५७ साल देखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाका मात्र पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । सदरमुकाम खाँदबारीदेखि किमाथाङ्काको दूरी १ सय ६२ किमि छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।