मोरङः कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्युतको ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै सुनसरी, मोरङ र झापामा ट्रान्सफर्मर चोरीको आतंक मच्चाउँदै आएको गिरोहलाई नियन्त्रणमा लिन सफल भएको जनाएको हो ।

प्रहरी नायब महानिरिक्षक ईश्वरी कार्कीका अनुसार चोरीमा संलग्न सात जनासहित चोरीका सामान किन्ने थप पाँच जनालाई पक्राउ गरिसकिएको छ । अनुसन्धान का क्रममा थप व्यक्तिहरु पनि तानिँदै जानसक्ने उनले बताए ।

यसरी पक्राउ पर्नेमा चोरीमा संलग्न मोरङ ग्रामथान गाउँपालिका– ४ का४२ वर्षीय अर्जुनकुमार माझी, सोहि गाउँपालिका– ५ का ३१ वर्षीय इरज धामी, मोरङकै बेलबारी–४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, बेलबारी ३ का २७ वर्षीय रञ्जित तामाङ, सुनसरी दुहवी ३ का ३५ वर्षीय अनुज विश्वास, दुहवी २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई दुहवी– ४ ससुराली बस्ने ३५ वर्षीय आलम मियाँ रहेका छन् ।

उनीहरुले २०८१ साल माघदेखि सिलसिलेवार ढङ्गले सुनसरी, मोरङ र झापाका विभिन्न क्षेत्रबाट २२ वटा ट्रान्सफर्मर चोरी गरेको तथ्याङ्क प्रहरीले दिएको छ । विशेषगरि ग्रामिण क्षेत्रका ट्रान्सफर्मर बढी चोरी गरेको पाइएको छ । करिब २ करोड रुपैयाँ मूल्य बराबरको ट्रान्सफर्मर गिरोहले चोरेको पाइएको छ । उनीहरुले चोरी गरेका ट्रान्सफर्मर फुटाई त्यसमा लाग्ने बस्तुहरु सस्तोमा बेच्दै आएका थिए ।

प्रहरीले सस्तोमा पाइयो भन्दैमा चोरीको सामान किन्ने ५ जनालाई समेत पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा भने विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, दुहवी ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहवी २ का ३१ वर्षीय कपिल भट्ट र इटहरी– ४ का ३९ वर्षीय सिताराम राई रहेको प्रहरीले जानकारी दिएको छ ।

लामो समयदेखि ट्रान्सफर्मर चोरीको उजुरी आएपछि कोशी प्रदेश प्रहरीले विद्युत प्राधिकरणको समेत सहयोग लिएर अनुसन्धान सुरु गरेको थियो । बाक्लो रुपमा प्रहरी परिचालन गरेर चोरी कार्यमा संलग्नको पहिचानमा जुटेको प्रहरीले यहि साउन ९ गते मात्र एक व्यक्ति पक्राउ गर्न सफल भएको थियो । एक जना पक्राउपछि थप अनुसन्धानमा सक्रिय भएको प्रहरीले अन्ततः गिरोह नै पक्राउ पर्न सफल भएको जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट डायल रेन्ची, सलाई रेन्ची, पिलास, पेचकस, छिनो, साङ्ली, कैची, ह्याक्सो, खन्ती, इलेक्ट्रिक ग्रेन्डर, झम्पललगायत दर्जनौं औजारहरू समेत बरामद भएको छ भने, चोरीमा प्रयोग गरिका ५ वटा मोटरसाइकल र एउटा पिकअप गाडी समेत बरामद भएको प्रहरीले जनाएको छ । यस्तै गरि उनीहरुले प्रयोग गरेका १२ थान मोबाइल र ३६८।५ केजी तामाको तार समेत बरामद भएको प्रहरी नायब महानिरिक्षक कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही अघि बढाइएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।