सुनसरी : इटहरीमा अटिजम बिरामी बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उप–महानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रा.लिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले कुटपिट गरेका हुन ।

घटना साउन २३ गते शुक्रवार भएको बालकका आफन्तले बताएका छन् । साउन १५ गते मात्र सेन्टरमा भर्ना गरिएका बालकलाई सन्चो नभएको भन्दै सेन्टरबाट फोन आएपछि परिवार सेन्टर पुग्दा बालकको हात, ढाड, पाखुरा र तिघ्रामा चोटै चोट देखिएको थियो । अटिजम बिरामी भएकाहरूको स्वभाव अन्य बालबालिका भन्दा फरक हुने कारण स्याहार-सुसार राम्रो हुने भनेर सेन्टरमा भर्ना गरेको अवस्थामा सेन्टरकै एक महिला कर्मचारीले बालकमाथि निर्घात कुटपिट गरेको आफन्तहरूको दाबी छ ।

घटनापछि बालकलाई घर ल्याइएको र घटना छानबिनको लागि परिवारले इटहरी प्रहरीमा उजुरी समेत दिइएको अवस्था छ । अटिजम बिरामी भएको बालक थाहा हुँदा हुँदै फरक तरिकाले स्याहार र उपचार गर्नु पर्नेमा छोरालाई हात बाँधेर कुटपिट गरिएको बुवा शेखर प्रसाद कोइरालाले आरोप छ । 

‘केयर सेन्टरले बोलाएपछि हामी त्यहाँ पुगेका थियौ, तर छोराको अवस्था दयनीय थियो । दिशा पिसाबमा लतपतिएको छोरा देखेपछि हामी स्तब्ध भयौ’ कोइरालाले भने ‘छोरा बिरामी छ उपचार गर्नुपर्छ भन्दा शरीरमा चोट र नीलडाम भेटायौ ।’  बाँधेर राखेपछि दिशा पिसाब एकै ठाउँ भएको रहेछ, यो अतिचार गरेको हैन र ?  उनले प्रश्न गरे । 

यता, कुटपिट गर्ने प्रेरणा केयर सेन्टरका सञ्चालक चूडामणि निरौलाले सेन्टरभित्र एक महिला कर्मचारीमाथि बालकले हात हालेको विषयमा लछारपछार भएको बताए । ‘बालकलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको हो, पछि उनलाई अस्पतालमा प्रयोग हुने ‘हेण्डकफ’ लगाएर राखेका थियौ’ निरौलाले भने ‘पछि कर्मचारीले हात लगाउनु भएछ, त्यो गल्ती भयो ।’

RAW.00_02_45_12.Still010घटना नियत वश भएको हैन । रातको समयमा महिला नर्स र महिला कर्मचारीहरू मात्र रहेको अवस्थामा घटना हुन पुगेको र चोटपटक लागेको बालकको उपचार सेन्टरले बेहोर्ने निरौलाको भनाई छ । घटनापछि इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार दुवै पक्षबिच छलफल भए पनि पीडित परिवारले सेन्टरलाई कानुनतः कारबाहीको माग गरेका छन् ।