इटहरी : सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री मङ्गलवार राति २० फिटको वाल नाघेर फरार भएका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८२ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो ।
मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका खत्रीलाई कारागारको आन्तरिक प्रशासनले रातीको डिउटी खटाएको थियो । त्यही क्रममा कारागार भित्रको मुढा बनाउने उघोगमाथि चढेर खत्रीले १० फिटको सिडी बनाई २० फिटको वाल नाघेर बिहान करिब २ बजेको समय तिर फरार भएको कारागार प्रशासनले जनाएको छ ।
फरार कैदीको खोजीको लागि सुनसरी, उदयपुर, सप्तरी लगायतको जिल्लाहरूमा सुरक्षाकर्मी परिचालन गरी सर्च अप्रेसन भइरहेको छ । कारागारको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र जनपद प्रहरीका ४५ बढी सुरक्षाकर्मी परिचालन हुने झुम्का कारागारबाट कैदी फरार भएपछि यसलाई गम्भीर सुरक्षा चुकको रूपमा लिइएको छ । हाल कारागारमा परिचालित सशस्त्र प्रहरीका डिएसपी राजेश श्रेष्ठको कमान्डमा रहेको टोली र जनपदको टोलीमाथि अनुसन्धान गरिने भएको छ ।
घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा प्रमुखहरू सम्मिलित टोलीले स्थलगत निरीक्षण गरेर कारागारको वस्तुस्थितिका बारेमा जानकारी लिएको छ । घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्नेदेखि लिएर कैदी फरार भएकाको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ । झुम्का कारागारमा बुधवार बिहानसम्म १ हजार ७ सय ९५ जना कैदी बन्दी थिए ।
कैदी फरार भएको विषयमा जेलर सुवासकुमार लामिछाने प्रतिक्रिया दिन मानेनन् । यस अघि २०६९ कार्तिक २३ गते यही झुम्का कारागारबाट सुरुङ खनेर ११ जना कैदी बन्दी फरार भएका थिए ।