इटहरीः विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र सीआरभी खनारको संयुक्त टोलीले इटहरी–११ बस्ने ३० वर्षीय मो.अवजल मियाको घरमा छापा मार्दा ठूलो मात्रामा लागू औषध बरामद गरेको छ।
बुधवार दिउँसो २ बजे गरिएको खानतलासीमा ट्रामाडोल १,२६० क्याप्सुल र डिकोलिक ५१० क्याप्सुल लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्।
प्रहरीले घटनास्थलबाट कम्पाउण्ड छेउमा राखिएका दुई मोटरसाइकल (प्रदेश १–०४–००१ प ४५९१ र को २९ प ७८०९) समेत बरामद गरेको छ। घरधनी अवजल मिया भने हाल फरार छन् । उनको प्रहरीले खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।