काठमाडौंः चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै यो संकेत गरिसकेको थियो ।
पोस्टर र गीतले पनि यसलाई प्रष्ट पारिसकेको छ । सुरक्षाको अपोजिटमा को छ रु पोस्टर र टिजरमा सुरक्षाको अपोजिटमा को छ भन्ने देखाइसकेको छ ।
निर्माण टिमले केही दिन अगाडि सार्वजनिक गरेको प्रेमिल गीत ‘भंगेरा भगेरी’सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्लगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा हिट छ । यी दुवै गीतमा सुरक्षाको अपोजिटमा नयाँ अनुहार देख्न सकिन्छ ।
त्यो नयाँ अनुहार मन्जिल कुमारको हो । जसले ‘कोशेढुंगा’मा सुरक्षाको जोडी भएर स्क्रिन सेयर गर्दैछन् । केही नाटकमा अभिनय गरेका उनले यो चलचित्रमा लिड रोलमा काम गरेका छन् । गाउँले भूमिकामा उनी फिट देखिएका छन् । होल सिनेमामा भने उनले कति स्क्रिन अकुपाई गर्छन् र कस्तो पफर्मेन्स गर्छन्, त्यो भने सिनेमा रिलिज भएपछि नै थाहा हुनेछ ।
केही सीमित सट र पोस्टरबाट अहिले नै उनको अभिनयको मूल्यांकन गर्न कठिन हुन्छ । चितवनका मन्जिल कुमार ‘कोशेढुंगा’बाट उनले अभिनयमा करियर खोज्ने प्रयास गरेका छन् ।
“अभिनयमा रुचि रहेको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ, त्यसैले यो चलचित्रमा अभिनय गरेँ,” मन्जिल भन्छन्, “ऐतिहासिक सिनेमाका निर्देशक र अब्बल र अनुभवी कलाकारसँग काम गर्न पाएँ, यो मेरा लागि ठूलो मौका हो ।”
आफूले दर्शकलाई नबिजाउने खालको अभिनय गरेको उनको दाबी छ । अनुभवी र सफल निर्देशक तथा कलाकारसँग आफूले सहकार्य गर्ने मौका पाएको बताउँदै उनले सक्दो प्रयास गरेका बताए ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको यो चलचित्र ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त र मन्जिल कुमारसँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।
पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।