इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार कैदी झापाबाट पक्राउ परेका छन् । साउन २८ गते बिहान कारागारको बि ब्लकबाट २० फिटको वाल नाघेर जबरजस्ती करणी मुद्दाका कैदी बन्दी रूपक पौडेल खत्री फरार भएका थिए ।
उनी झापाको बिर्तामोड नगरपालिका १० विराट पोखरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले पुष्टि गरे । उनी आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रदेश पोर्टललाई जानकारी दिए । ‘फरार खत्री शुक्रवार राती झापा आएका थिए, उनको आफन्त पर्नेको घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौ’ डिएसपी खड्काले भने । शनिवार बिहान ६ बजे उनी पक्राउ परेका हुन ।
कोशी प्रदेश प्रहरी कार्यालयको पिआइटी टिम सहित सुनसरी र झापा प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो । संयुक्त टोलीले फरार खत्रीको सम्भावित पुग्ने ठाँउहरुको निगरानी गरिरहेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको बताइएको छ ।
खोटाङ दिप्रङ चुईचम्पा गाउँपालिका २ का खत्री सामूहिक बलात्कारको घटनामा अदालतले पुर्पक्षका लागि २०८२ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका खत्रीलाई कारागारको आन्तरिक प्रशासनले रातीको डिउटी खटाएको थियो । त्यही क्रममा कारागार भित्रको मुढा बनाउने उघोगमाथि चढेर खत्रीले १० फिटको सिडी बनाई २० फिटको वाल नाघेर बिहान करिब २ बजेको समय तिर फरार भएका थिए ।
यता घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले कारागारमा तैनाथ सशस्त्र र जनपद प्रहरीहरूको बयान लिने क्रममा छ । यो समितिले जेलर, अन्तरिम प्रशासन तथा कारागारका कर्मचारीसँग पनि बयान लिने जनाइएको छ ।
समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्नेदेखि लिएर कैदी फरार भएकाको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने छ ।