इटहरी : २८ साउनमा सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा दुई जना मृत भेटिए । दुहबी नगरपालिका–५ शिव मन्दिर चोकका चन्द्रिका रौनियारको नयाँ घर निर्माणको क्रममा ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको सेफ्टी ट्यांकी भित्रै शव भेटिएको थियो । यी दुवै जना चन्द्रिका रौनियारको नयाँ घर बनाउने ठेकेदार र कामदार थिए ।
दुहबी निवासी दुवै जनाको शव पोस्टमार्टम पश्चात् दाहसंस्कार गरिसकेको अवस्था छ । तर पोस्टमार्टम रिर्पाेट भने आइसकेको छैन । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले पोस्टमार्टम रिर्पाेटको आधारमा मृत्युको कारण खुल्ने र पोस्टमार्टम रिर्पाेट केही दिन भित्रै आउने बताए । तिमिल्सिनाका अनुसार सेफ्टी ट्यांकी भित्र भेटिएका दुवै जनाको ‘शङ्कास्पद’ मृत्यु भने नभएको दाबी छ । ‘शवको प्रारम्भिक पोस्टमार्टमबाट शरीरको भित्री र बाहिरी भागमा कतै चोट देखिन्न, यसको अर्थ मृत्यु अन्य कारणबाट भएको हुनसक्छ’ तिमिल्सिनाले भने ‘यसको निष्कर्ष पोस्टमार्टम रिर्पाेट नै हो ।’ प्रहरी निरीक्षक तिमिल्सिनाले घटना सेफ्टी ट्यांकी भित्र काम गर्ने क्रममा निसास्सिएर वा जमेको पानीमा डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरे ।
घटना पश्चात् कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान शाखा (पीआईटी) समेतले यो घटनाको अनुसन्धान गरेको छ । घटना शङ्कास्पद नभएको र सेफ्टी ट्यांकी भित्र काम गर्ने क्रममा निसास्सिएर वा जमेको पानीमा डुबेर दुवैको मृत्यु भएको आधार पीआईटीले औँल्याएको छ । पीआईटी र दुहबी प्रहरीको संयुक्त अनुसन्धानले निर्माणाधीन घर आसपासको सिसिटिभी फुटेज, कल डिटेल, मृतकहरूको पृष्ठभूमि र घर धनीको बयानले शङ्का उब्जाउने कतै ठाउँ नभेटिएको अनुसन्धानमा उल्लेख गरिएको छ ।
घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार मृतकहरूको मानवीय असावधानीले सेफ्टी ट्यांकी भित्र घटना हुन पुगेको बताइएको छ । सामान्यतया, नयाँ घर निर्माण गर्दा तलाको जमिनी भागमा शौचालयको लागि सेफ्टी ट्यांकी निर्माण गरिन्छ । करिब ५ देखि ६ फिट गहिरो २० मिटर चौडाइ आकारको सेफ्टी ट्यांकी बनाउने चलन छ । घरको जग उठाउन अघि ट्यांकी भित्र सिमेन्टेड प्लास्टर गरिन्छ अनि मुखको भाग राखेर माथिबाट समेत ढलाई गरिन्छ । ढलाई गरेको १० देखि १५ दिन पश्चात् ट्यांकी ढलाई गर्दा राखेको (सर्पोट) फलामको पाइप वा बाँस निकाल्नु पर्ने हुन्छ । साथै जमेको फोहोर र पानी पनि ।
घटना अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृत भन्छन् ‘ठेकेदारले आफ्नो कामदारलाई सेफ्टी ट्यांकी भित्र भएको निर्माण सामाग्री, फोहोर र जमेको पानी निकाल्न भनेको हुनुपर्छ । त्यही क्रममा ट्यांकी भित्र पस्दा चिप्लेर पानी जमेको ठाउँमा फसेको र कम अक्सिजनको कारण श्वास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको अवस्था देखिन्छ । पछि कामदारलाई उद्धार गर्न जाँदा ठेकेदार समेत निसास्सिएर मृत्यु भएको हुन सक्ने हाम्रो अनुमान हो ।’ त्यस्तै ट्यांकी भित्र जमेको पानीमा डुबेर पनि उनीहरूको मृत्युको कारण हुन सक्ने आकलन गरिएको छ ।
सेफ्टी ट्यांकी भित्र निसास्सिएर मृत्यु हुनुको वैज्ञानिक कारण भने लामो समयदेखि बन्द रहेको सेफ्टी ट्यांकी भित्र ताजा हावा प्रवेश नगर्नु हो । ताजा हावा ट्यांकी भित्र प्रवेश नगर्दा अक्सिजनको स्तर घटेर १९.५% भन्दा कम भएपछि मानिसलाई श्वास फेर्न गाह्रो हुन्छ । प्राय यस्ता सेफ्टी ट्यांकीमा ताजा हावा प्रवेश नगर्दा विषालु ग्यासको उपस्थिति बन्छ । जस्तै मिथेन, हाइड्रोजन सल्फाइड, कार्बन डाईअक्साइड जस्ता ग्यास ट्याङ्कीभित्र जम्मा हुन्छ । यी ग्यास गन्धविहीन वा निकै तीव्र गन्ध हुने हुन्छन्, जसले सेफ्टी ट्यांकी भित्र छिर्न साथ मानिस बेहोस वा मृत्यु हुन सक्छ । भित्र न त झ्याल हुन्छ, न त वायु प्रवाह, जसले गर्दा सास फेर्न गाह्रो हुन्छ ।
अनुसन्धानमा संलग्न अर्को एक प्रहरी अधिकृतको भनाइमा पनि घटना मानवीय असावधानीले घटेको भनिएको छ । २०७६ सालमा मोरङको सुनवर्षी ९ स्थित मस्जिदको शौचालयको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको घटना स्मरण गर्दै ती प्रहरी अधिकृत भन्छन् ‘त्यो घटनामा पनि यस्तै प्रकृतिको देखिन्छ ! ठेकेदार र कामदारको हेलचेक्राईले दुर्घटना घटेको अवस्था छ । पोस्टमार्टम रिर्पाेटले पनि यस्तै आधारहरूलाई सङ्केत गरेको छ ।’
‘हामीले यो घटनामा अत्यन्त गम्भीरता पूर्वक काम गरेका छौ, ट्र्याकिङ डग देखि फरेन्सिक विज्ञ टोली ल्याएर अनुसन्धान गरेका छौ, शङ्कास्पद आधार कतै देखिन्नन्’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृत भन्छन् ‘दुवैको निसास्सिएर मृत्यु भएको हाम्रो अनुसन्धानको निष्कर्ष हो ।’