इटहरी: सोमबार(हिजो) इटहरीमा भएको जेनजी आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाउने २३ बर्षीय अभिषेक श्रेष्ठ पढाई छाडेर साउदीका लागि भिसा लागी जाने तयारीमा रहेको बुझिएको छ ।
इटहरी १६ लबीपुर नजिककै जब्दीमा मामाघरमा बस्दै आएका उनी पढ्दै बाँकी रहेको समय इटहरीको द बर्गर हाउसमा फोटोग्राफीको का म गर्दै आएका थिए । उनले बर्गर हाउसमा पाटटाईमका रुपमा फोटोग्राफी गरेको २ बर्ष पूरा भएको थियो ।
रामधुनीको तितिरवनामा स्थायी घर भएका उनी शनिवार मात्र बर्गर हाउस आएर आफूले पाउने हिसाबमध्ये ३० हजार नगद लिएर बिदा भएका थिए । बाँकी केही रकम क्युआर मा पठाइदिन भन्दै सबै जनासँग बिदा मागेर निस्केको द बर्गर हाउसका सञ्चालक राजकुमार तामाङले जानकारी दिए ।
फोटोग्राफी मात्रै गुजारा गर्न समस्या भएको जनाउँदै श्रेष्ठ केही समय अघि काठमाडौँ गई वारिसयताको तालिम लिएका थिए । तालिम लिएपछि वैदेशिक रोजगारका लागि साउदी जान म्यानपावरमा आफ्ना कागजात पेस गरेर फर्किएका थिए । काठमाडौँबाट फर्किएका उनी भिसा नआउन्जेल बर्गर हाउमै कार्यरत थिए ।
श्रेष्ठले साउदीका लागि ९ तारिख अर्थात आजैकै फ्याट रहेको शनिवारको बिदाइमा आफूलाई जानकारी गराएको सञ्चालक तामाङले बताए । सोमबार बिहान पनि एकै छिन बर्गर हाउस आएर हिँडेको अन्य कर्मचारीहरूले जानकारी दिएको उनले बताए । तर आफ्नो भने उनीसँगको शनिवारको भेट नै अन्तिम भएको तामाङले बताए ।
नेपालको कामले व्यवहार धान्न नसकेपछि बाध्य भएर विदेश जानका लागि भिसा समेत आई सकेका श्रेष्ठलाई सिधै गोली हानेर प्रहरीले हत्या गरेको भन्दै उनका परिवारले आपत्ति जनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार इटहरी उपमहानगरपालिका तोडफोड र आगजनी गरेसम्म रमिते बनेको प्रहरीले आन्दोलन मत्थर हुनेतर्फ अगाडि बढिरहेकोमा प्रहरीले एक्कासि गोली प्रहार गरेको थियो ।
ढुंगामुडा लागि घाइते भएका एक विद्यार्थीलाई उद्धार गरी पूर्वबाट आएको एम्बुलेन्समा उठाएर उपचारका लागि पठाउन लाग्दा इटहरी उपमहानगरपालिका भित्रको सुरक्षाका लागि भनेर खटिएको प्रहरीले सिँधै गोली हानेको र श्रेष्ठ घटनास्थलमै ढलेको प्रत्यक्षदर्शीहरुले दाबी गरेका छन् । श्रेष्ठ सहित अर्का एकलाई पनि गोली लागेको र उनी पनि सडकमा ढलेका थिए ।
दुई जना सडकमा ढल्नसाथ सशस्त्र प्रहरीले चारैतिरबाट घेरा हाली घटनास्थलमा कसैलाई पनि जान दिएको थिएन । गोली लागेको करिब आधा घण्टापछि मात्र एम्बुलेन्स झिकाएर उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
प्रतिष्ठान पुराए लगतकर्तै डाक्टरले श्रेष्ठ सहित दुई जनाको मृत्यु भइसकेको घोषणा गरेको थियो । डाक्टरले मृत्युको कारण गोली अत्याधिक रगत बग्नाले जनाएको थियो । श्रेष्ठसँगै मृत्यु भएका अर्का एकको पहिचान खुल्न बाँकी छ ।
इलाका प्रहरी कार्यालय इटहरीभित्र आक्रमण शुरु गरेपछि कार्यालय सुरक्षाका लागि सशस्त्र प्रहरीले गोली चलाउँदा दुईको ज्यान गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले दाबी गरेको छ ।