सुनसरी । जेनजी आन्दोलनले देश सङ्क्रमणकालीन अवस्थामा छ । आन्दोलन मत्थर हुँदै जाँदा देशका विभिन्न जिल्लाहरूमा कर्फ्यु हटाइएको छ । तर यस्तो प्रतिकुल समयमा पनि कोशी प्रदेशमा भने तस्करी व्यापक भइरहेको छ । सुरक्षा निकायको कार्यालयहरूमा आगजनी तथा तोडफोडपछि उल्लेख्य रूपमा हुने सुरक्षा चेकजाँच नहुँदा अनि प्रतिकुल समयको फाइदा उठाउँदै यति बेला तस्करी बढेको हो । 

आइतबार बिहान सुनसरीको इटहरीबाट भारत तस्करी गर्न राखिएको दुई वटा मालवाहक ट्रकमा सशस्त्र प्रहरीले ५ हजार केजी गाँजा बरामद गरेको छ । इटहरी उप-महानगरपालिका ५ स्थित स्यार्सेकालि पेट्रोल पम्प अगाडी राखिएको बा ४ ख २९०१ र बा ५ ख ११६९ ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी पकलीको ५ हजार केजी अवैध गाँजा बरामद गरेको हो । जेनजी पकलीका युवाहरूले गाँजा भारततर्फ तस्करी भइरहेको सूचनाको आधारमा युवाहरूले ट्रक नियन्त्रणमा लिई सशस्त्र प्रहरीलाई खबर गरेका थिए । तस्करहरूले ट्रक भित्र गाँजा प्याक गरेर बाहिर तरकारी राखेको जस्तो गरेर तस्करी गर्ने गरेको देखिन्छ । 

ट्रकका चालक भने फरार भएका छन् ।  ट्रकबाट १५८ बोरामा प्याक गरिएको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी पकलीका प्रवक्ता एवम् एसएसपी सुधीर जङ्ग थापाले जानकारी दिए । युवाहरूको सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले ट्रकको खानतलासी गरेको उनले बताए । बरामद गाँजा बराह बाहिनी पकलीमा तौल गरिएको थियो ।

HD.00_01_14_07.Still010बरामद गाँजा र ट्रक थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइने छ । बरामद गाँजा र मालवाहक ट्रक धनकुटा जिल्लाबाट तस्करी हुँदै इटहरी आएको हो । बरामद गाँजा नेपाली ७ करोड रुपैयाँ मूल्य बराबरको भएको प्रारम्भिक अनुमान गरिएको छ  । धनकुटामा उत्पादित यी गाँजा तस्करहरूले भारतमा पुराएर प्रतिकेजी १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । 

जेनजी आन्दोलनको  समयमा व्यापक गाँजा तस्करी भइरहेको सूचनाको आधारमा जेनजी युवाहरूले सुनसरीका भित्री तथा मुख्य राजमार्गमै शङ्कास्पद सवारी साधनमाथि निगरानी गरेका थिए ।  नाम नबताउने सर्तमा एक जेनजी युवा भन्छन् : ‘कर्फ्युको समयमा पनि व्यापक गाँजा तस्करी भयो । हामीले रोक्न खोज्दा गाँजा बोकेको सवारी साधनले ठक्कर दिन खोजे । यहाँ गाँजाका साथै कपडा, खाद्यान्न तथा सामानहरू तस्करी भई रातभर आउने गरेका छन् ।’ ती युवाले सुरक्षाकर्मीको मिलेमतोमै (व्यावसायिक) तस्करी भइरहेको दाबी गरे । ‘अब देशमा तस्करी गर्नेहरूको दिन गए, सुरक्षाकर्मीले सीमाजन्य तस्करी नियन्त्रण नगरे युवाहरूले यसको खुलेरै प्रतिकार गर्ने’ समेत जेनजी युवाहरूले चेतावनी दिएका छन् । 

देश सङ्क्रमणकालीन अवस्थामा हुँदा समेत अहिले कोसी प्रदेशका सुनसरी, मोरङ र झापाका भारतीय नाकाहरूबाट गाँजा, कपडा, खाद्यान्न लगायतका बस्तुहरू तस्करी भइरहेको दाबी गरिएको छ । यसमा बोर्डरको फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीको मिलेमतोमा बिना यतिका धेरै तस्करीका सामान नेपालबाट भारत र भारतबाट नेपाल तस्करी नहुने जानकारहरू बताउँछन् । 
WhatsApp Image 2025-09-14 at 12.07.42_023f9235