इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले जेनजी आन्दोलनका क्रममा प्रहरीलाई सहयोग गर्ने तिन जनालाई सम्मान गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा सरुवा भई आएका तथा बिदाइ भएका एसपीहरूले उनीहरूलाई सम्मान गरेको हो । आन्दोलनको क्रममा प्रहरीको हतियार तथा गोली सुरक्षित गरी नेपाली सेनालाई बुझाएको भन्दै न्युज २४ टेलिभिजनका सुनसरी सम्वाददाता मनोज भुजेल, मेडिकल साहयता तथा इलाका प्रहरी कार्यालय पकलीको भवन पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेल्ने पकलीका रवि मिश्र र इनरुवाका सामाजिक अगुवा एवम् प्रहरी सहयोगी रोहित निरौलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

सरुवा भई आएका नयाँ एसपी केशव कुमार थेबेको स्वागत तथा सरुवा भई जाने एसपी सुमन कुमार तिम्सिनालाई बिदाइ गर्न आयोजित एक कार्यक्रममा तिनै जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूलाई बधाई दिँदै एसपी केशव कुमार थेबेले आगामी दिनहरूमा यसै गरी नागरिक, पत्रकार र प्रहरीको सम्बन्ध प्रगाढ हुने बताए ।