इटहरी : ६२ किलोमिटर भारतसँग जोडिएको सुनसरीको सीमावर्ती नाकाहरूबाट हुने तस्करीमा सादा पोसाकका (घुमुवा) प्रहरीकै संलग्नताको दाबाका साथ केही सञ्चारकर्मीले जिल्लामा आएका नयाँ एसपी केशव थेबेलाई भने ‘तपाईँको घुमुवा प्रहरी तस्करीको सामान स्कटिङ गर्छ, मासिक/हप्तावारी पैसा असुल्छ ! यी घुमुवा प्रहरीलाई तपाई कारबाही गर्न सक्नुहुन्छ ?
सञ्चारकर्मीसँगको परिचय कार्यक्रममा थप केही सञ्चारकर्मीले घुमुवा प्रहरीकै विषयमा प्रश्न तेर्साएपछि एसपी थेबेले घुमुवा प्रहरीको विषय मोड्दै सीमा नाकाहरूसँग जोडिएका मातहतका प्रहरी इन्चार्जहरुलाई ‘आफूले के निर्देशन दिएको छु सोध्नु होला ।’ भनेर जवाफ फर्काए । प्रश्न गर्ने सञ्चारकर्मीले फेरी एसपीलाई ‘के निर्देशन दिनुभयो त’ भनेर प्रश्न दोहोराए । एसपी थेबेले भने, ‘मैले चोरी तस्करीदेखि लागु औषधसम्मको विषयमा निर्मम भएर लाग्न स्पष्ट रूपमा भनेको छु । अब तपाईँहरूले आफ्नो गाउँ ठाउँमा यस्ता अवैध गतिविधि देखे वा मेरो प्रहरीको संलग्नता भेटे, हदैसम्मको कारबाही गर्न तयार छु ।’
नयाँ आउने एसपीहरूको जस्तो ‘रेडिमेड’ जवाफ आयो नि भनेर पुर्न सञ्चारकर्मीले प्रश्न गरेपछि थेबेले फेरी भन्छन् ‘हिजो के भयो सरोकार भएन, म आएको छु ! आजबाट सीमा क्षेत्रका प्रहरीको व्यवहार हेरौँ । मेरो र मेरा इन्चार्जहरुको एक्टिभिटी तपाईँहरूले बाँच गर्नुहोला ।’ घुमुवा प्रहरीको विषयमा तर्किएका एसपी थेबेले अन्तिममा तस्करहरूसँग साठगाठ भएको आधार प्रमाण भए मात्र विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय मार्फत हाल परिचालित घुमुवा प्रहरीको विषयमा सञ्चारकर्मीले व्यापक गुनासो र प्रश्न गरेपछि भर्खरै आएका नयाँ एसपी थेबेले यसरी बिषयाअन्तर गदै घुमुवा प्रहरीको बचाउमा लागेका छन् । त्यसो त, दसैँ तिहारको मुखमा नयाँ आएका एसपीले सीमा नाकाका इन्चार्जहरुलाई ‘सेटिङजन्य काम पूर्ण रुपमा रोक्ने’ निर्मम निर्देशन दिएपछि हाल इन्चार्ज रहेका प्रहरीहरू खिन्न छन् । यस अघिका एसपी सुमन तिम्सिनाले सरुवा भएर जाने क्रममा आफू निकट केही प्रहरीलाई सीमा नाकाहरूमा पोस्टिङ गरेका थिए ।
जिल्ला आउन साथ आफू अनुकूलका इन्चार्ज सीमामा राख्न नपाएका एसपी थेबेले अहिले ती इन्चार्जहरु प्रति निर्मम व्यवहार देखाएको चर्चा छ । ‘अबको केही महिनामै तिम्सिनाको पालामा पोस्टिङ भएका इन्चार्जहरु परिवर्तन हुने निश्चित छ’ एक प्रहरी अधिकृतले भने ‘सुरु सुरुमा नयाँ प्रमुख (एसपी) निर्मम भएर निर्देशन दिने र कडी कडाई गर्ने प्रहरी सङ्गठनमा सामान्य विषय हो ।’ तर अत्यन्त विवादित घुमुवा जो हाल जिल्ला मार्फत परिचालित छन् उनीहरू प्रति भने नयाँ एसपी नरम देखिएको ती प्रहरी अधिकृतको दाबी छ ।
इन्चार्जहरुलाई ‘निर्मम’ निर्देशन दिने एसपीले भने प्रहरी हबलदार सालिकराम राजवंशीको कमान्डमा रहेको ६ जना प्रहरीको घुमुवा टोलीलाई भने ‘नर्मल’ निर्देशन मात्र दिएको प्रहरी स्रोतको दाबी छ । यस्तै घुमुवा टोली परिवर्तन नगर्ने समेत सङ्केत एसपी थेबेले दिएका छन् ।
सञ्चारकर्मीले घुमुवा प्रहरीको विषयमा प्रश्न गर्दा एसपीले अप्रत्यक्ष रूपमा घुमुवा प्रहरीको बचवा गरेका थिए । हाल जिल्ला प्रहरी कार्यालय सुनसरी मार्फत परिचालित घुमुवा प्रहरीले नयाँ एसपी थेबे आउनु अगावै तस्करी गर्ने केही व्यवसायीबाट रकम उठाएको समेत गम्भीर आरोप छ ।
‘नयाँ एसपी साँप आएको केही दिन पछि लाइन चल्छ,अहिले दसैँ पनि आउन लाग्यो । हाकिमहरूलाई खर्च चाइनै हाल्छ’ भनेर घुमुवा प्रहरीले घुस्की र देवानगंजका तस्कर गर्ने व्यापारीबाट पैसा लिएको व्यवसायी स्रोतको दाबी छ । ती व्यवसायीका अनुसार हाल घुमुवा रहेका प्रहरीको ‘कल डिटेल’ मात्र निकालेर अनुसन्धान गर्दा शतप्रतिशत पुष्टि हुने दाबी गरे ।
यस्तै धनकुटाबाट उत्पादित अवैध गाँजा भारत तर्फ तस्करी गर्न जिल्लाका घुमुवा प्रहरी अझै सकृय रहेको दाबी गरिएको छ । सुनसरीका सीमावर्ती क्षेत्र, इटहरी र धरानका केही ‘गोप्य गोदाम’ मा हजारौँ केजी गाँजा ट्रकहरूमा लोड गरी ‘स्टेण्ड बाइ’ राखिएको छ । लोड भएका गाँजालाई भारत कटाउन अहिले जनपद र सशस्त्रका घुमुवा प्रहरी, भारतीय व्यापारी र गाँजा धनीहरू बिच कोशी ब्यारेज, इनरुवा, इटहरी र धरानका लोकेसनहरूमा भेटघाट गरिरहेको स्रोतको दाबी छ । बिहीबार मात्र इटहरीमा रहेका दुई वटा शङ्कास्पद ट्रकलाई बाइक र टाटा सोमोले ‘स्कट्रिक’ गरेर चतरा पुल हुँदै उदयपुर छिराएको दाबी गरिएको छ । दुई वटा शङ्कास्पद ट्रकलाई ‘स्कट्रिक’ गरिरहेको भिडियो प्रदेश पोर्टलसँग सुरक्षित छ ।
स्रोतका अनुसार बोर्डर नाका टाइट गरेपछि दोस्रो विकल्पको रूपमा रहेको चतरा पुल हुँदै मधेस प्रदेशका जिल्लाबाट भारत कटाउने तयारी छ । तर गाँजा तस्करहरू रुट लामो हुने कारण सकेसम्म सुनसरी नभए मोरङ जिल्लाको नाकाबाट भए पनि गाँजा कटाउने दाउमा छन् ।
हाल जिल्लामा आएका नयाँ एसपी थेबे प्रहरी सङ्गठनमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रूपमा परिचित छन् । काठमाडौँका विभिन्न प्रभागमा पोस्टिङ रहँदा थेबेले अपराध अनुसन्धान र कार्यसम्पादन राम्रो गर्ने गरेको चर्चा छ । थेबे हालका प्रहरी आइजिपी चन्द्र कुबेर खापुङ निकट प्रहरी अधिकृत पनि हुन् । निकट सम्बन्ध भएकै कारण आइजिपी खापुङले नै थेबेलाई सुनसरी जिल्ला पठाएको प्रहरी सङ्गठनमा चर्चा छ ।
भारतसँगको सीमावर्ती जिल्ला भएकै कारण सुनसरी जिल्लाको एसपी पोस्टिङको लागि विगत देखिनै कडा प्रतिस्पर्धा अनि आर्थिक लबिङ हुने गरेको छ । यस कारण पनि यहाँ आउने प्रमुख एसपीहरूले सुरु सुरुमा नाका टाइट गर्ने र क्रमशः सेटिङ मार्फत तस्करीजन्य काम खुलाउँदै लैजाने चलन छ ।
तर नयाँ एसपी थेबेको तस्करी प्रतिको रणनीति कस्तो हुनेछ भन्ने जिज्ञासा क्रमशः देखिने निश्चित छ । त्यसमा पनि सीमाजन्य तस्करी र गाँजा तस्करीको विषयमा जेनजी युवाहरूले खुलेर प्रतिवाद गर्न थालेको घटनाले पनि थेबेको कार्यकालमा तस्करी टाइट गर्नुको विकल्प नभएको बताइएको छ । हाल सुनसरीको दक्षिणवर्ती क्षेत्रका जेनजी युवाहरूले तस्करी भइ आउने जाने सामानहरू नियन्त्रणमा लिई भन्सार, राजस्व अनुसन्धान र सशस्त्र प्रहरीलाई बुझाउने गरेका छन् । भदौ २९ गते मात्र जेनजी युवाहरूले इटहरीबाट ६ हजार केजी अवैध गाँजा बोकेको ट्रक नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी पकलीलाई बुझाएका थिए ।