इटहरी: जेनजी आन्दोलनका कारण एक प्रकारको शून्यता, अप्ठेरो र दुःखको अवस्थामा पुगेको नेपाली समाजमा राष्ट्रिय चाड दसैँ भित्रिएको छ । परिस्थिति जे भए पनि, दुःखलाई उसकै ठाउँमा छोडेर नेपालीहरू राष्ट्रिय चाड दसैँलाई परिवारका सदस्य सबै सँगै हुने र मिठो मसिनो बाँडी चुँडी खाने विशेष अवसरका रूपमा लिने गर्छन् ।

यस्तो पृष्ठभूमिमा गीत–सङ्गीत सर्जक एनबी मगर लेख्छन्– ‘धानको बाला झुलिसक्यो, क्षितिज, गगन खुलिसक्यो । लिङ्गे–पिङ र चङ्गा उडाई रमझम चलिसक्यो । मैँ दुःखीको परदेशमा कपाल सबै फुलिसक्यो ! ए, हौ उड्ने पिलिएन, आइनँ आमा यो दसैँमा छुट्टी मिलेन !’

घर देशको खुसीका लागि परदेश पुगेका नेपालीहरूको मनको भावना समेटेर लेखेका शब्दहरूलाई गीतकार मगर सङ्गीतको साँचोमा ढाल्छन् र चर्चित गायक राजेश पायल राईलाई गाउन लगाउँछन् ।

‘दसैँ आयो गाउँघरमा सारा खुसी छायो । हर्ष, उल्लास, उमङ्गको बहार बोकी ल्यायो,’ बोलको दसैँ गीत ‘छुट्टी मिलेन’ आवरणमा दसैँको चटारोसँगै असोज ४ गते सार्वजनिक गरिएको छ ।

एनबी (नरबहादुर) मगरको शब्द–सङ्गीत तथा राजेश पायल राईको स्वरमा किङ एन्ड मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको ‘छुट्टी मिलेन’ गीतको सङ्गीत संयोजन जुजु गुरुङले गरेका छन् ।

सुरेश राई रेकर्डिङ र राजन क्षेत्री निर्देशनमा बनेको गीतको भिडियोमा गीतकार एनबी मगरसहित शर्मिला राई मगर, सृष्टि मगर, प्रेमलक्ष्मी मगर, काजीमान मगरको जीवन्त अभिनय देख्न सकिन्छ ।

राजेश पायल राई युट्युब च्यानलमार्फत सार्वजनिक ‘छुट्टी मिलेन’ गीत तीन दिनमा १४ हजारभन्दा बढीले हेरिसकेका छन् ।

यसअघि लक्ष्मी मावि इटहरीका शिक्षकसमेत रहेका सर्जक एनबी मगरको ‘रुमाल साटौँला’ बोलको गीत २०८० चैत २४ गते मनोरञ्जन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।