इटहरीः बिहीबार इटहरीका सटरवाला प्रायः सबै पसल बन्द हुने गर्दछ । बजार बन्द भएको बेला बाटो हिँड्न सहज हुनुपर्ने हो । तर बिहीबार बजार बन्द हुने दिन झन् सडकमा पैदल यात्रुलाई सास्ती हुने गर्छ । 

बिहीबार यहाँका अधिकांश होलसेल कपडा व्यापारी नै सडकमा आएर पसल थाप्ने गर्छन् । प्रायः फुटपाथमा सामान्य स्तरका स्थानीयहरूले व्यापार गर्ने आम मानसिकता छ । तर, इटहरीमा भने सटरवाला र होलसेल व्यवसायीहरू नै सडकमा पसल थाप्न सक्रिय देखिएका छन् ।

इटहरीका व्यवसायीको निर्णयअनुसार नै हप्तामा एक दिन बिहीबार बजार बन्द गर्ने नियम लगाइएको छ । तर ‘रेस्ट टाइम’को बेला पनि सडकलाई नै जाम बनाउने गरी होलसेल कपडा व्यवसायीहरूले नै सडकमा पसल थाप्ने गरेका छन् ।

केही समय अगाडि इटहरीको फुटपाथमा राखेर सामान बेच्ने व्यापारीलाई नियन्त्रण लिएर कारवाही अभियान शुरु गरेको इटहरी नगर प्रहरी अहिले भने मौन छ । ‘फुटपाथ क्ल्यिर’ अभियान शुरु गरेको इटहरी नगर प्रहरी अहिले भने बाटो जाम हुने गरी फुटपाथमा लागेको बजारको मूकदर्शक भएर बसेको देखिन्छ ।

अन्य पसल बन्द हुने दिन इटहरीको विभिन्न सडक किनारामै बजार लाग्ने गरेको छ । ‘सस्तो बजार’लगायतका अनेक नाम दिएर सडक पेटीमा राख्ने सामान नक्कली हुने र सिलाइबुनाइमा खराबी भएका सामान हुने ग्राहकको भनाइ छ । सटरमा गुणस्तरहीन सामान बेच्न नामिल्ने भएकाले सडकमै सामान फिँजाएर स्वयम् सटरवाला व्यवसायीहरूले नै बेच्दै आएका छन् ।

‘आजकाल ग्राहकहरू पनि बिहीबार मात्र सामान खरिद गर्न आउने गर्दछन । बिहीबार होलसेल व्यापारीहरूले नै सडकमा आएर सामान बेच्ने गर्दछन्,’ इटहरीको सङ्गीत चोकमा व्यापार गर्ने कल्पना थलङ भन्छिन्, ‘अधिकांश होलसेल व्यवसायीहरू ‘ड्यामेज’ सामान ‘क्लियर’ गर्न पनि सडकमा आउँछन् अनि होलसेल ‘प्राइस’मै दिन्छु भन्दै ग्राहक ठगी गर्ने क्रम पनि उस्तै छ ।’

यता, होलसेलमा काम गर्ने कर्मचारीहरू पनि ‘स्टक क्लियर’ गर्न नै बिहीबार सामान बेच्ने गरेको स्वीकार्छन् । पुराना भइसकेका सामानलाई हटाउन होलसेल व्यापारीहरूले नै पसलको भन्दा सस्तो दाममा कपडा बेच्ने गरेको उनहरूको भनाइ छ । ‘ड्यामेज सामान बेच्न पसलमा अलि मिल्दैन । रेपुटेसन बिग्रिने चान्स हुन्छ’, एक होलसेलमा काम गर्ने कामदारले भने, ‘त्यै भएर बाहिर सडकमा ल्यायो बेच्यो ।’

उपमहानगरले लिएन ‘एक्सन’
उपमहानगरपालिका कार्यालयको प्रवेशद्वारको ५ सय मिटरको दुरीमै खुल्लमखुल्ला बजार लाग्ने गर्दछ । तर वार्षिक कार्यक्रममा तय गरिएको सङ्ख्यामा अनुगमन गर्ने मानसिकता भएकाले आँखै अगाडिको फुटपाथमा लागेको बजारको चासो उपमहानगरलाई देखिँदैन । केही समय अगाडि प्रहरी नै लगाएर फुटपाथका व्यापारी हटाएको इटहरी नगरप्रहरी पनि अहिले रहस्यमयी तरिकाले मौन बसेको छ ।

यता, बजारलाई सम्पूर्ण तरिकाले अनुशासित र प्रतिष्पर्धात्मक बनाउन उपमहानगरको उपभोक्ता हित संरक्षण समितिलाई कार्यपालिकाले अधिकार दिएको छ । तर उपप्रमुखको संयोजकत्वमा बनेको संरक्षण समितिले बजारलाई पूर्ण व्यवस्थित बनाउन नसकेको आरोप लाग्दै आएको छ ।

इटहरी उपमहानगरले बनाएको बजार अनुगमन नियमावली २०७५ ले बजारलाई पूर्ण व्यवस्थित गराउन मार्ग प्रशस्त गरेको छ । ‘बजार प्रणालीलाई स्वस्थ, प्रतिष्पर्धी र उपभोक्ताप्रति जिम्मेवार तुल्याउन यो नियम र अन्य प्रचलित कानुनको कार्यान्वयनमा जोड दिने’ भनी सो नियमावलीमा उल्लेख छ । नियमावलीअनुसार बजार अतिक्रमण हटाउन प्रजिअलाई आग्रह गरी प्रहरीसमेत परिचालन गर्न सकिन्छ ।

footpath e footpath  1