धरान/ दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि अधिकांशमा उत्साह छाए पनि पूर्व माओवादी केन्द्रका नेता, कार्यकर्तामा भने केन्द्रीय सदस्य छनोटले असन्तुष्टि पैदा गराएको छ ।

पार्टीलाई संकटकालको समयमा पनि जोगाउन महत्वपूर्ण योगदान पु¥याएका नेता, कार्यकर्ता तथा शहीद परिवार, घाइते एवं अपांगलाई पनि बेवास्ता गर्दै पार्टीले केन्द्रीय समिति सदस्यहरू छनोट गरेको भन्दै पूर्वमाओवादीभित्र तीव्र असन्तुष्टि पैदा भएको हो । असन्तुष्ट नेता, कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्टि प्रकट गरिरहेको बेला बुधबार भने पूर्व पोलिटब्युरो सदस्यहरूको एक भेलाले सदस्य छनोटप्रति असहमति प्रकट गर्ने निर्णय गरेको हो ।

यसले माओवादी केन्द्रभित्रको असन्तुष्टिलाई पुनः सतहमा ल्याएको छ । केन्द्रीय समिति सदस्यमा प्रदेश १ का पोलिटब्युरो सदस्य एवं प्रभावशाली नेताहरू मुक्साहाङ मेन्याङ्बो, डम्बर सुवेदी, श्रीप्रसाद जबेगूसमेत नपरेपछि कार्यकर्ताहरूमा पनि असन्तुष्टि बढेको छ ।

बुधबार पेरिस डाँडा पार्टी कार्यालयमा भएको पोलिटब्युरो सदस्यहरूको भेलाले पार्टी एकताको स्वागत गरे पनि केन्द्रीय समिति सदस्य छनोटप्रति असहमतिसहितको निर्णय पार्टी अध्यक्ष र वरिष्ठ नेताहरूलाई जानकारी गराएका थिए । माओवादी केन्द्रको तर्फबाट केन्द्रीय समिति सदस्य छनोट गर्दाको विधि र प्रक्रियाप्रति असहमति जनाएको नेताहरूले जानकारी गराएका छन् । ‘महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, मजदुर, शहीद तथा बेपत्ता परिवार एवं घाइते तथा अपांग योद्दाहरूको समुचित प्रतिनिधित्व नगराइएको, जिल्लागत सन्तुलन नमिलाएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने श्रेष्ठ कमरेडहरूलाई छुट्याइएकोले हाम्रो गम्भीर असहमति रहेको छ,’ पोलिटब्युरो सदस्यहरूको निर्णयमा भनिएको छ । भेलामा ८७ जना पूर्वपोलिटब्युरोहरू उपस्थित थिए ।
सो भेलाले जनवर्गीय संगठन र मोर्चाहरू, पार्टीको केन्द्रीय निकाय तथा विभागहरू, प्रदेश र स्थानीय पार्टी कमिटीहरू निर्माण गर्दा ठोस विधि, प्रक्रिया र मापदण्ड निर्माण गर्न पनि पार्टीको गम्भीर ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको थियो । केन्द्रीय समिति गठनमा फरक मतसहितको सुझाव अध्यक्ष प्रचण्डलाई बुझाएको पनि नेताहरूले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

तत्कालीन माओवादीका पोलिटब्युरो सदस्य डम्बर सुवेदी हिमालले आफूहरू केन्द्रीय समिति सदस्यमा छनोट नभएको विषयमा असन्तुष्टि भन्दा पनि सदस्य छनोट गर्दाको विधि, प्रक्रिया र मापदण्डबारे पार्टी नेतृत्वलाई प्रश्न गरिएको बताए । पार्टी एकतापछि नेता र कार्यकर्ताहरूको सही व्यवस्थापन गर्नु मुख्य चुनौती भएको उल्लेख गर्दै उनले सही रूपमा व्यवस्थापन नगरे एकताबाट पार्टीलाई बेफाइदा हुने पनि चेतावनी दिए ।

‘हामी परेनौं भन्ने कुरा होइन, पारदर्शी रूपमा छनोट गरिएन भनेर असहमति हो । कुन विधि, प्रक्रिया र मापदण्ड अपनाएर केन्द्रीय समिति सदस्य छानियो भन्ने प्रश्न हो,’ सुवेदीले भने ।
तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्रीप्रसाद जबेगूले पार्टी एकताको महान अवसरमा आफूलाई जिम्मेवारीविहीन बनाएर जिन्दगीकै सर्वाधिक अपमान र अन्याय गरेको भन्दै फेसबुकमा असन्तुष्टि व्यक्त गरेका छन् भने प्रदेश नं १ का प्रदेश सभा सांसदसमेत रहेकी नेतृ उमिता बराइलीले केन्द्रीय सदस्य छनोटप्रति टिप्पणी गर्दै लेखेकी छिन्, ‘चाप्लुसी र चाकडीको पराकाष्ठा नेकपाको केन्द्रीय सदस्य मनोनित प्रक्रिया ।’

यस्तै, तत्कालीन माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिका सदस्य अइन्द्रबिक्रम बेघाले पनि केन्द्रीय सदस्य मनोनयनप्रति असन्तुष्टि व्यक्त गर्दै गाँठी र जिलीको भेउ नपाएको भनी फेसबुकमा टिप्पणी गरेका छन् ।

‘अचम्म पनि कस्तो भने नि तीन छक्क पर्नु परियो । कता हो जिली कता हो गाँठी ? सन्दर्भ, नेकपाको के.स. नियुक्ति !’ उनले लेखेका छन् ।