सुनसरीः  ६ महिनादेखि बन्द बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फार्मेसी शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको खुलेपछि लामो समयदेखि फार्मेसीको सेवा बन्द गरिएको थियो।

फार्मेसी सञ्चालन भएसँगै प्रतिष्ठानका डेपुटी निर्देशक डा.इन्द्रकुमार लिम्बूलाई फार्मेसी सञ्चालनको संयोजक तोकिएको छ। फार्मेसी बन्द हुँदा प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बिरामीहरू औषधि खरिद गर्न बाहिरका निजी फार्मेसी धाउन बाध्य थिए। जसका कारण बिरामीको उपचारमा गम्भीर समस्या भएको थियो। फार्मेसी पुनः सञ्चालनमा आएसँगै बिरामीको उपचार सहज हुनुका साथै अन्य सेवाग्राहीलाई सुविधा भएको छ। 

प्रतिष्ठानका डेपुटी निर्देशक डा.इन्द्रकुमार लिम्बूले बिरामीको सुविधालाई मध्यनजर गर्दै २० जना फार्मेसिस्ट कर्मचारी नियुक्त गरी फार्मेसी सञ्चालनमा ल्याइएको बताए। उनले फार्मेसीमा आवश्यक औषधि खरिद गरी फार्मेसी सेवालाई व्यवस्थित बनाइने बताएका छन्।

फार्मेसी बन्द हुँदा दैनिक सयौं बिरामी प्रभावित भएका थिए। उपचारका क्रममा चाहिने औषधि प्रतिष्ठानभित्रै नपाउँदा बिरामीका आफन्तहरू धरानका विभिन्न निजी फार्मेसीमा दौडिनुपर्ने अवस्था थियो। यसले उपचार खर्चसमेत बढाएको थियो। अब भने फार्मेसी खुलेसँगै औषधि खरिद गर्न सहज भएको धरान–१५ की मनिता घिमिरेले बताइन्।

प्रतिष्ठानले बन्द गरेको फार्मेसी सञ्चालनमा ल्याए पनि फार्मेसी घोटाला प्रकरणको छानबिन प्रभावकारी बनाइएको छैन। प्रतिष्ठानको फार्मेसीमा खरिद गरिएको औषधि बिक्रीबाट उठेको रकममा मिलेमतो गरी ५० लाख रुपैयाँभन्दा बढीको घोटाला गरिएको छ। प्रतिष्ठानका निर्देशक जगतनारायण श्रेष्ठ, तत्कालीन डेपुटी निर्देशक लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन तथा कर्मचारी विवेक दाहालको मिलेमतोमा औषधि बिक्रीको रकम हिनामिना गरिएको थियो। त्यसपश्चात् प्रतिष्ठानले फार्मेसी बन्द गरेको थियो।

औषधिको रकम घोटाला प्रकरणबारे संचारमाध्यममा समाचार प्रकाशित भएपछि गत असोजमा प्रतिष्ठानका डा. विष्णु पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। तर, समिति गठन भएको करिब तीन महिना बित्न लाग्दासमेत छानबिन प्रक्रिया पूरा हुन सकेको छैन। छानबिन समितिको ढिलासुस्तीप्रति सरोकारवाला तथा सेवाग्राहीहरूले प्रश्न उठाउन थालेका छन्। 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भएको आर्थिक अनियमिततामा समयमै छानबिन गरी दोषी उपर कारबाही नहुनु प्रतिष्ठानको सुशासनमाथि प्रश्न खडा गर्ने विषय भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईले बताए। उनले फार्मेसी घोटालाका दोषीलाई कारबाही र रकम असुल गर्न माग गरेका छन्। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित भएको छ ।