इटहरीः ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ ।
स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या भएको हो । बिहान अबेरसम्म घरबाट ननिस्किएपछि छिमेकीले बोलाउँदा प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो ।
घटनास्थल र शवको अवस्था विश्लेषण गरी थप अनुसन्धान गर्न कोशी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिए ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ ।




















