भोजपुरः भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बासको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुर्खौली नाङ्लो बुन्ने पेसा होम्ताङबासीको भरपर्दो आम्दानीको श्रोत नै नाङ्लो बनेको छ ।
होम्ताङका अधिकांश स्थानीयले नाङ्गो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारहरुले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेश गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सवै भन्दा बढी उत्पादन हुने गरेको छ । दशैँ, तिहार, छठलगायत चाड पर्वको अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ ।
यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घर खर्च चलाउने गरेको स्थानीयबासी पुजा राईले बताइन्। आफ्ना घरका सवै परिवार नै नाङ्लो बुन्ने गरेको उनको भनाइ छ । एक महिनामा एक सय ५० वटासम्म नाङ्लो बुन्ने गरेको उनले बताइन् । नाड्लो बिक्रीबाट वार्षिक दुईदेखी तीन लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा रु। एक सय १० देखी एक सय २० सम्म बिक्री हुने उनले बताइन् ।

‘नाङ्लो हाम्रो क्षेत्रको राम्रो आम्दानीको श्रोत हो’ उनले भनिन्‘घरका सवै परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ । नाङ्लो घरबाट नै विक्री हुन्छ । यसको विक्रीबाट वार्षिक रु दुईदेखी तीनलाखसम्म आम्दानी हुन्छ । हाम्रो क्षेत्रका प्रायः सवैले व्यवसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ ।’
हतुुवागढी ६ होम्ताङको साविक १ को लङ्खाका करिव ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र हालको हतुवागढी ५ साविक ४ सोया गाउँका करिव ४० घरपरिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएको हतुवागढी ६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले बताए । राई अनुसारका व्यापारीले भारतसँगै पश्चिम नेपालका विभिन्न ठाउँमा पठाउने गरेको छ ।
होम्ताङका स्थानीयको राम्रो आम्दानीको श्रोतको रुपमा नाङ्लो बुन्ने व्यवसाय रहेको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय यो पेसामा आवद्ध रहेकाले राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको स्थानीय नाङ्लो व्यवसायी प्रकाश राईले बताए । यसको थप विकास तथा विस्तार गरेर यसमा थप व्यवसायिकता ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
‘हाम्रो क्षेत्रका अधिकांश नागरिकले नाङ्लो बुन्ने गर्दछन्’उनले भने,‘यसबाट गाउँघरमा मनग्य पैसा पनि भित्रिदै गरेकोछ । यसलाई थप व्यवसायिकता दिनको लागि स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

















