काठमाडौँः विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्र्याएका छन् ।
यस अवधिमा नेपालीले १८ अर्ब १० करोड रुपियाँ परामर्शबापत आम्दानी गरेको केन्द्रीय बैङ्कले जनाएको छ । यो विदेशमा उपलब्ध गराएको व्यावसायिक तथा व्यवस्थापनसँग सम्बन्धित परामर्शबापतको आम्दानी हो । गत वर्षको सोही अवधिमा नेपालीले १४ अर्ब ५६ करोड रुपियाँ परामर्शबापत आम्दानी गरेको तथ्याङ्कले देखाउँछ ।
मङ्सिरसम्म नेपालबाट पनि परामर्शबापत करिब दुई अर्ब रुपियाँ बाहिरिएको छ । राष्ट्र बैङ्कका अनुसार सो अवधिमा एक अर्ब ७९ करोड रुपियाँ सोही शीर्षकमा नेपालबाट बाहिरिएको हो । परामर्शबापत नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको रकमसमेत गर्दा नेपालले यो शीर्षकमा १६ अर्ब ३१ करोड रुपियाँ खुद आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ अर्ब २० करोड रुपियाँ थियो ।
नेपालीले अनुसन्धान एवं विकास शीर्षकमा पनि विदेशबाट आम्दानी गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । जस अनुसार मङ्सिरसम्म पाँच करोड ६५० लाख रुपियाँ अनुसन्धान तथा विकासबापत आम्दानी भएको देखिन्छ । यसै शीर्षकमा नेपालबाट दुई करोड ८३ लाख रुपियाँ बाहिरिएको छ । नवप्रवर्तन एवं प्रविधि आविष्कारका लागि महत्वपूर्ण मानिने अनुसन्धान तथा विकासमा नेपालले गर्ने समग्र कारोबार निकै न्यून रहेको उल्लेखित तथ्याङ्कले देखाउँछ ।
यस अवधिमा नेपालीले प्राविधिक तथा व्यापार व्यवसायसँग सम्बन्धित सेवा प्रदान गरेर नौ अर्ब ५५ करोड रुपियाँ भित्र्याएको देखिन्छ । यसै शीर्षकमा नेपालबाट तीन अर्ब ४३ करोड रुपियाँ बाहिरिएको तथ्याङ्क छ । विगतको तुलनामा यस किसिमको आम्दानी बढ्दै गएको पनि देखिन्छ । गत आवको यही अवधिमा नेपालले सात अर्ब ३९ करोड रुपियाँ यो शीर्षकमा भित्र्याएको थियो ।
विदेशमा श्रव्यदृश्यसम्बन्धी सेवा दिएर पनि नेपालीले आम्दानी गरिरहेको राष्ट्र बैङ्कले जनाएको छ । यस्तो सेवा दिएर नेपालीले पाँच महिनामा एक अर्ब ५८ करोड रुपियाँ आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी एक अर्ब ३४ करोड रुपियाँ थियो । चालु आवको पहिलो पाँच महिनासम्म यसै शीर्षकमा नेपालबाट ४५ करोड १३ लाख रुपियाँ बाहिरिएको छ ।
पर्यटकबाट ३४ अर्ब आम्दानी
पाँच महिनामा नेपालले पर्यटकबाट करिब ३४ अर्ब रुपियाँ आम्दानी गरेको छ । भ्रमण शीर्षक अन्तर्गत प्राप्त यो आम्दानी विदेशीले नेपालमा गर्ने खर्चको तथ्याङ्कसँग सम्बन्धित छ । गत वर्षको सोही अवधिमा ३५ अर्ब ११ करोड रुपियाँ आर्जन भएको थियो ।
राष्ट्र बैङ्कका अनुसार यस अवधिमा भ्रमण शीर्षकमा ८८ अर्ब ९७ करोड रुपियाँ नेपालबाट बाहिरिएको छ । भ्रमणका लागि नेपाल भित्रने र नेपालबाट बाहिरिने बिचको अन्तरका कारण नेपाललाई ५५ अर्ब रुपियाँ घाटा यस शीर्षकमा देखिन्छ ।
भ्रमण शीर्षक अन्तर्गत व्यावसायिक भ्रमणबापत दुई करोड १६ लाख रुपियाँ मात्र आम्दानी हुँदा ७४ करोड ७८ लाख रुपियाँ बाहिरिएको छ । व्यक्तिगत भ्रमणतर्फ ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी हुँदा ८८ अर्ब २२ करोड रुपियाँ बाहिरिएको छ । व्यक्तिगत भ्रमण अन्तर्गत स्वास्थ्यसम्बन्धी, शिक्षालगायतका भ्रमण पर्दछन् । नेपालबाट अध्ययनका लागि बाहिरिनेको सङ्ख्या अत्यधिक हुँदा शिक्षासँग सम्बन्धित भ्रमण शीर्षकमा मात्रै ५६ अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ ।




















