इटहरीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा झिनो मतान्तरले पराजित भएपछि डा. सुनिलकुमार शर्माले पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै शर्माले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको बताएका हुन्।


महामन्त्री पदको निर्वाचनमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले उम्मेदवारीलाई पद प्राप्तिको आकांक्षाभन्दा नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्पका रूपमा व्याख्या गरेका छन्।


उनले नेपाली कांग्रेसका नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। निर्वाचनमा आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने देश–विदेशबाट आएका महाधिवेशन प्रतिनिधिप्रति उनले आभारसमेत प्रकट गरेका छन्।


शर्माले पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापनाका लागि आफ्नो प्रयास निरन्तर जारी रहने स्पष्ट पारेका छन्। उनका अनुसार निर्वाचनमा प्राप्त परिणामले निराश बनाउनुको सट्टा अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा दिएको छ।


‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु,’ शर्माले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।

WhatsApp Image 2026-10-12 at 12.56.43


उनले महामन्त्री पदको चुनावी प्रतिस्पर्धाका क्रममा देश–विदेशका महाधिवेशन प्रतिनिधिले व्यक्त गरेको सद्भाव र मतमार्फत दिएको साथले आफूलाई अझ सशक्त रूपमा काम गर्ने प्रेरणा मिलेको बताएका छन्। आफूलाई साथ दिने प्रत्येक प्रतिनिधिको मत र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उनको भनाइ छ।


शर्माले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै नेता, विजयी पदाधिकारी, पार्टीका विभिन्न तहका प्रतिनिधि तथा कार्यकर्ताप्रति पनि सम्मान व्यक्त गरेका छन्। लोकतान्त्रिक पद्धतिलाई जीवन्त राख्न प्रतिस्पर्धामा उत्रिएका सबै नेताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सबैसँग सहकार्य गरेर पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।


महान् नेता बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको शर्माले बताएका छन्। उनले निर्वाचनको हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्षका रूपमा लिँदै जनताको सेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।


शर्माको यो अभिव्यक्तिले महाधिवेशनको परिणामपछि पनि पार्टीभित्र सक्रिय रहेर संगठन सुदृढीकरण र रूपान्तरणको अभियानमा योगदान दिने उनको संकेत गरेको छ। उनले आफ्नो फेसबुक स्टाटसको अन्त्यमा ‘जय नेपाल !’ लेख्दै पार्टी र जनताको सेवामा निरन्तर समर्पित रहने सन्देश दिएका छन्।