इटहरीः कुलमान घिसिङ  नेतृत्वको उज्यालो नेपाल पार्टीले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट इटहरी निवासी जेनजी उमेरका युवा अध्यापक गोपाल तामाङलाई टिकट दिएको छ । 

इटहरी ३ तामाङटोल निवासी अध्यापक तामाङलाई आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उज्यालो पार्टीबाट उम्मेदवार बनाएपछि उनको चर्चा एकाएक चुलिएको छ । 

अर्थशास्त्रमा डिग्री गरेका उनी विद्यार्थी र अभिभावकहरु बीच पनि राम्रोसँग परिचित छन् । उनी कानून बिषयमा समेत अध्ययन गरिरहेका छन् । उम्मेदवार बन्ने पक्का भएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का युवाहरुमा एकखालको उत्साह बढेको छ । 

युवाहरुमा मात्र नभई उनी उम्मेदवार बन्ने भएपछि अध्याप/प्राध्यापन पेशामा संलग्न बौद्धिक व्यक्तिहरुमा समेत राम्रो चर्चा परिचर्चा शुरु भएको छ । सानै उमेरदेखि अध्ययन, सामाजिक कार्यसँगै राजनितिमा लागेका प्राध्यापक तामाङलाई  मतदान गर्न उनका निर्वाचन क्षेत्रका जेनजीहरु  आतुर भएका छन् । 

 तामाङले अन्य पार्टीका नेताहरु, अग्रज राजनितिकर्मीहरुलाई गाली गर्न भन्दा पनि देशको परिर्वतित अवस्थालाई राम्रोसँग बुझेर सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को समग्र विकास र युवाहरुको जनभावनालाई केन्द्रभागमा राखेर काम गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको प्रतिक्रिया दिएका छन् । 

उनले भोली(माघ ६ गते) जिल्ला निर्वाचन कार्यालय इनरुवा सुनसरीमा उम्मेदवारी दर्ता पछि जनताका घर घरमा आर्शिवादका लागि जाने तयारी पनि थालेको जानकारी दिए । 

नेपालको अर्थराजनितिलाई नजिकबाट बुझेका उनी युवाहरुलाई आफ्नो गाउँठाउँमा राखेर थुप्रै रोजगारहरु सृजना गर्न सक्ने नविन भिजन भएका युवा नेता समेत हुन् । कृषिमा आधारित उद्यम र गाउँ केन्द्रित अर्थतन्त्रलाई मुलशिरमा राखेर योजना बनाए देश संमृद्धतर्फ लम्कन त्यती समय नै नलाग्ने उनको तर्क छ । पर्या पर्यटन र जलविद्युतको विकास माध्यमबाट समेत देशलाई संसारकै धनी बनाउन सकिने उनी ढुक्क समेत छन् ।