झापाः बाबुआमाको निधनपछि छोरीले छोरासरह काजक्रिया गर्नु हुँदैन भन्ने आम मान्यता छ । तर, त्यस्तो परम्परागत संस्कारलाई तोड्दै बिस्तारै धेरै छोरीले छोरासरह बाबुआमाको काजक्रिया गर्न शुरु गरेका छन् ।

पछाडि पारिएको र अल्पसङ्ख्यक मेचे समुदायमा पनि आफ्ना बाबुआमाको निधनपछि छोरीले काजक्रिया गर्नु हुँदैन भन्ने मान्यता छ । तर, सो मान्यतालाई तोड्दै पहिलोपटक १ जना किशोरी अहिले आमाको काजक्रिया गर्न छोरासरह कोरामा बसेकी छिन् ।
मेचे समुदायको विरोधका बाबजुद पनि मेचीनगर–११ झापाकी १२ वर्षीया किशोरी आमाको काजक्रियामा बसेकी छिन् । स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गदैं आफ्नो र छोरीको जीविकोपार्जन गदैं आएकी ३९ वर्षीया शर्मिला मेचेको बिहीबार निधन भयो । उनको निधनपछि छोरी सबिना यतिखेर आफ्नो समुदायको पुरानो संस्कारलाई तोड्दै आमाको काजक्रियामा बसेकी हुन् ।

छिमेकीका अनुसार शर्मिला लामो समयदेखि मुटुको रोगबाट ग्रसित थिइन् । छोरी सबिनाले साइकलमा हालेरै भए पनि आमालाई उपचारका लागि लैजाने गरेको उनका छिमेकी बताउँछन् । लामो समयदेखि शर्मिलाका श्रीमान् भने बेपत्ता छन् । श्रीमान् बेपत्ता भए पनि गिटी कुटेर र बालुवा चालेरै भए पनि शर्मिलाले छोरी सबिनाको हेरचाह गरी पढाई खर्च जुटाउँदै आएकी थिइन् ।

मेचे समुदायले मेचे सिवियारी आफत केन्द्रीय कार्यालयको सल्लाहबमोजिम सबिनालाई आमाको काजक्रियामा राखेको आफतका सल्लाहकार सन्तोष मेचेले बताए । उनले मेचे समुदायमा चेलीले कोरामा बस्नु हुँदैन भन्ने मान्यतालाई तोडेरै लैजानुपर्छ भनेर सबिनालाई काममा राखेको बताए ।

‘संस्कार मात्र भनेर हँुदैन । छोरा नहुनेका बाबुआमाको निधन भयो भने कसले कोरा बार्ने ? अब परम्परा भनेर मात्र नहुँदो रहेछ तोडेर जानुपर्छ’, वडा नम्बर ११ का वडाध्यक्षसमेत रहेका मेचेले भने, ‘शुरुमा उनलाई काजक्रियामा बस्न दिनु हुँदैन भन्ने विरोधका स्वर पनि प्रशस्त सुनिएको थियो ।’

आर्थिक अवस्था ज्यादै न्यून भएको मृतकको परिवारमा अब सबिनाबाहेक अरु कोही पनि छैनन् । शर्मिलाको अन्त्येष्टी समेत छरछिमेकी र मेचे समाजको पहलमा भएको थियो । आफ्नी आमाको चितामा दागबत्ती पनि सबिनाले नै दिएकी थिइन् । मेचे समुदायमा आमाबाबुको काजक्रिया गर्दा १३ दिनसम्म सेतो कपडा लगाएर काम गर्नुपर्ने भए पनि सबिना नाबालक भएकै कारण आमाको काम ७ दिनमै सक्ने वडाध्यक्ष मेचेले बताए ।

सबिना स्थानीय बलभद्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । पढाइमा समेत उनी निकै अब्बल रहेको छिमेकी बताउँछन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले शुक्रबार सबिनाको घरमै गएर सबिनालाई सान्त्वना दिएकी थिइन् । नगरपालिकाले छलफल गरेर सबिनाका लागि सहयोग गर्ने उनले बताइन् ।