विराटनगरः तीनै तहका सरकारसँगै राजनीतिक स्थायित्वको प्रभाव अरुण–३ जलविद्युत आयोजनामा देखिएको छ । लगानीको वातावरण सहज बन्दै अवरोध न्यून बनेपछि निर्माण प्रारम्भ भएको ९ महिनामै अरुण–३ आयोजनाको कार्यप्रगति १५ प्रतिशत देखिएको छ ।
अरुण–३ जलविद्युत आयोजना निर्माण शुरु भएको ९ महिनाको अवधिमा सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा १५ आयोजनास्थलमा संरचना निर्माणले गति लिएको छ । भारतको सतलज हाइड्रो कम्पनीले मकालु गाउँपालिका–५ को दोभान र चिचिला गाउँपालिका–३ दिदिङबाट एकै पटक निर्माणको कामलाई अगाडि बढाएको छ ।
दोभानमा उच्च बाँध निर्माण गरी ११ दशमलव ७ किलोमिटरको दूरीमा रहेको दिदिङमा बन्ने पावर हाउससम्म पानी ल्याइने बताइएको छ । जसका लागि चार स्थानबाट सहायक सुरुङ खन्ने काम थालिएकोे ठेकेदार कम्पनी सतलजका कार्यकारी निर्देशक सतिशकुमार शर्माले जानकारी दिएका छन् ।
मुख्य सुरुङसम्म पुग्नका लागि दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङको ५ सय ९ मिटर लम्बाइमध्ये ३ सय ५२ मिटरको काम सकिएको छ । ४ वटा प्रवेश सुरुङको काम सकिएसँगै एकैपटक आठ स्थानबाट मुख्य सुरुङ मार्गको काम थालिने भएको छ ।
बाँध (ड्याम) निर्माणस्थल दोभानमा अरुण नदी डाइभर्सन गर्न ३ सय ९३ मिटर दूरीको सुरुङ निर्माणको कामले समेत गति लिएको छ । बाँध निर्माणका लागि खनिएको डाइभर्सन सुरुङको ६५ मिटर काम सकिएको छ । यसलाई ३ महिनाभित्रै सम्पन्न गरी नदी डाइभर्सनपछि बाँधको काम थालिने भएको छ ।
यसैगरी, पावर हाउस निर्माण हुने दिदिङसम्म पुग्नका लागि च्याङकुटीदेखि २८ दशमलव ६ किलोमिटर दूरीको सडक आयोजनाले निर्माण गरिसकेको छ । सडक निर्माणसँगै पावर हाउस निर्माणस्थलको काम समेत थालिएको बताइएको छ ।
यसबाहेक अन्य ३ वटा सडक मार्ग निर्माणको काम ९८ प्रतिशत सकिएको दाबी गरिएको छ । आयोजना निर्माणका लागि आवश्यक पर्ने ४ वटा पुलमध्ये खोक्ता खोलामा पुल निर्माण गरिएको छ भने नुम, खगुवा र दिदिङमा निर्माण प्रक्रिया बढाइको जनाइएको छ ।