इटहरी । सुनसरी क्षेत्र नं. ३ मा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन कडा र रोचक हुने संकेत देखिएको छ। राष्ट्रिय राजनीतिका चतुर खेलाडी मानिने नेपाली कांग्रेसका विजयकुमार गच्छदार, उनलाई चुनौती दिँदै आएकी नेकपा एमालेकी भगवती चौधरी र पुराना दलको वर्चस्वलाई तोड्न खोजिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरीबीच यसपटक त्रिपक्षीय भिडन्त हुने देखिन्छ। त्यस्तै, यी तीन प्रतिस्पर्धीबीचको टकरावबाट फाइदा उठाउने अवसरको खोजीमा रहेको नेपाली कम्युनिस्ट पार्टीले दुर्गेश चौधरीलाई मैदानमा उतारेको छ।
गच्छदार र भगवतीबीचको प्रतिस्पर्धालाई धेरैले राजनीतिक अस्तित्वको लडाइँका रूपमा व्याख्या गरेका छन्। विजयकुमार गच्छदारका लागि यो निर्वाचन राजनीतिक जीवनकै अन्तिम र कठिन ‘अग्निपरीक्षा’ का रूपमा हेरिएको छ। उनले स्वयं यसलाई आफ्नो अन्तिम चुनाव भनेका छन्।
यस निर्वाचनमा पार्टीले अन्य उम्मेदवारलाई दिइसकेको टिकट अन्तिम समयमा आफ्नो नाममा सुरक्षित गर्न गच्छदार सफल भएका थिए। नेपाली कांग्रेसको संस्थापन पक्षले दुहबी नगरपालिकाका युवा मेयर बेद गच्छदारलाई टिकट दिइसकेको अवस्थामा विजय गच्छदारले शेखर कोइरालामार्फत बीच बाटोमै टिकट आफ्नो पक्षमा ल्याएका थिए। यस टिकट राजनीतिले कांग्रेसभित्रै असन्तुष्टि बढेको देखिन्छ। युवालाई छाडेर वृद्ध नेतालाई टिकट दिइएको भन्दै सुनसरी–३ मा कांग्रेसका असन्तुष्ट नेता तथा कार्यकर्ताहरू अन्य दलतर्फ आकर्षित भइरहेका छन्। उमेर ढल्कँदै गएको अवस्थामा पुनः उम्मेदवार बनाइएको भन्दै कांग्रेसको युवा पुस्ता र केही नेताहरू गच्छदारको विपक्षमा उभिएका छन्।
त्यसमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको अभियोग लागेपछि उनको छवि धमिलिएको छ। उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ। लामो समय आफ्नै निर्वाचन क्षेत्रका मतदातासँगको दूरी, जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक माहोलले गच्छदारका लागि यो चुनाव थप चुनौतीपूर्ण बनेको छ। यद्यपि, देश संकटमा परेका बेला पाको र अनुभवी नेतृत्व आवश्यक पर्ने तर्क गर्दै उनले अन्तिमपटक चुनावी मैदानमा उत्रिएको दाबी गरेका छन्।
२०४८ देखि सुनसरी–३ बाट लगातार निर्वाचन जित्दै आएका गच्छदार २०७९ मा पहिलोपटक पराजित भएका थिए। छ पटक संसदीय निर्वाचन जितेका गच्छदारका लागि त्यो हार सामान्य पराजय मात्र नभई लामो राजनीतिक यात्रामा ठूलो धक्का थियो। उनलाई पराजित गर्दै नेकपा एमालेकी भगवती चौधरी सुनसरी–३ बाट निर्वाचित भएकी थिइन्।
एकातिर गच्छदार आफ्नो राजनीतिक विरासत पुनःस्थापित गर्ने प्रयासमा छन् भने अर्कोतिर भगवती चौधरी आफ्नो अघिल्लो जितलाई निरन्तरता दिने रणनीतिमा जुटेकी छिन्। २०७९ को निर्वाचनपछि मन्त्री बनेकी भगवतीले आफू विकास र स्थायित्वको प्रतिनिधि भएको दाबी गर्दै आएकी छन्। मन्त्रीको हैसियतमा पूर्वाधार, सडक, खानेपानी, शिक्षा, ज्येष्ठ नागरिक र महिला सम्बन्धी विषय सरकारसम्म पुर्याएको उनको भनाइ छ।
तर जेन–जी आन्दोलनप्रति पार्टी र नेतृत्वले देखाएको अस्वीकार्यता, मन्त्री हुँदा विकास निर्माणमा पार्टी सिण्डिकेट चलाएको आरोप, गरिबका लागि बनेका आवास कार्यक्रममा भ्रष्टाचार, बजेट खर्चमा अपारदर्शिता र मतदाताका गुनासो सम्बोधन नगरेको आरोपका कारण भगवतीका लागि पनि यो निर्वाचन सहज छैन। यद्यपि अघिल्लो कार्यकालमा अधुरा रहेका काम पूरा गर्न पुनः विजयी हुनुपर्ने उनको अठोट छ।
पुराना दल कांग्रेस र एमालेप्रति मतदातामा देखिएको अविश्वास र असन्तुष्टिको फाइदा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउने सम्भावना देखिएको छ। २०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेको रास्वपाप्रति पछिल्लो समय जनलहर बढेको देखिए पनि उम्मेदवार अशोक कुमार चौधरीलाई ‘टुरिस्ट उम्मेदवार’ को आरोप खेप्नुपरेको छ। सुनसरी क्षेत्र नं. २ स्थायी ठेगाना भएका र सोही क्षेत्रबाट समानुपातिक सांसद बनेका चौधरी सुनसरी–३ को भूगोल र स्थानीय मुद्दामा अपरिचित रहेको आलोचना छ। कमजोर संगठन र स्थानीय आधारको अभाव रास्वपाका लागि मुख्य चुनौती बनेको छ। यद्यपि बालेन शाह र रवि लामिछानेको राष्ट्रिय प्रभावले केही मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। त्यसो त हाल रास्वपामा अन्य दलबाट पार्टी प्रवेश गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।
यसैबीच नेपाली कम्युनिस्ट पार्टीले दुर्गेश चौधरीलाई उम्मेदवार बनाएको छ। संगठन कमजोर भए पनि चौधरी सुनसरी–३ का मतदातामाझ अत्यन्त परिचित अनुहार हुन्। सामाजिक कार्यमा उनको प्रभाव र योगदान उल्लेखनीय मानिन्छ। यही कारण कांग्रेस–एमालेको टकरावबीच अन्तिम समयमा रास्वपा र नेकपाबीच प्रतिस्पर्धा चर्किन सक्ने आकलन गरिएको छ। दुर्गेश चौधरीले पुराना दल र पुरानै अनुहारबाट जनता दिक्क भइसकेको भन्दै यसपटक ‘फ्रेस’ अनुहारलाई जित दिलाउन मतदातासँग आग्रह गरिरहेका छन्।
सुनसरी–३ को निर्वाचनमा अर्को रोचक पक्ष के छ भने चारै जना प्रमुख उम्मेदवार थारू समुदायका छन्। थारू बाहुल्य यो क्षेत्रमा थारू मतदाताको भूमिकाले निर्वाचन परिणाममा निर्णायक प्रभाव पार्ने देखिन्छ। यही मत आधारलाई लक्षित गर्दै सबै दलले थारू उम्मेदवार अघि सारेका छन्।
सुनसरी–३ अन्तर्गत इटहरी उप-महानगरपालिकाका वडा नं. ६ देखि १५ सम्म, दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिकाको एक वडा पर्दछन्। यस क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता छन्।




















