सुनसरी । इटहरीमा ३ राउण्ड गोलीसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा इटहरी–१० निवासी टिकाराम श्रेष्ठ छन्। उनको साथबाट एसएलआरमा लाग्ने २ र थ्रिनटथ्री राइफलमा लाग्ने १ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको मोबाइल फोन चोरी भएको घटनाको अनुसन्धानका सिलसिलामा श्रेष्ठको घरमा खानतलासी गर्दा मोबाइल सेटसहित गोली बरामद भएको हो। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार बरामद गोली जेनजी आन्दोलनका क्रममा इटहरी प्रहरीले लुटिएको गोली हो। पक्राउ परेका श्रेष्ठलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षबाट फरार भएका ३५ जनामध्ये हालसम्म २२ जना विभिन्न मितिमा पक्राउ परिसकेको पनि प्रहरीले जानकारी दिएको छ।




















