इटहरीः यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार दिनेश धमला यतिबेला व्यवसायीमाझ चर्चाको केन्द्र बनेका छन्। वाणिज्यतर्फका सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका धमलाप्रति उद्योगी तथा व्यवसायीहरूको आकर्षण बढ्दै गएको देखिएको छ। निर्वाचनको मिति नजिकिदै जाँदा उनी यतिबेला चर्चाको शिखरमा छन् । 

इटहरीको संगीत चोकमा विगत सात वर्षदेखि जुत्ता–चप्पल व्यवसाय सञ्चालन गर्दै आएका धमलाले व्यवसायी समुदायमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। बजारका धेरै व्यवसायीहरूले उनलाई युवा, ऊर्जाशील र व्यवसायीहरूको साझा हितमा काम गर्न सक्ने उम्मेदवारका रूपमा लिएका छन्। व्यवसायीहरूमाझ उनको पक्षमा सकारात्मक माहोल बन्दै गएको र सदस्य पदमा उनको जितको सम्भावना बलियो रहेको उनीहरू बताउँछन्।

धमला अहिले घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदाता व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्। व्यवसायीहरूका अनुसार उनी पुग्ने अधिकांश स्थानमा उनको व्यक्तित्व, सरल स्वभाव र योजनाकै चर्चा बढी हुने गरेको छ।

WhatsApp Image 2026-07-02 at 08.41.09 (1) 11

स्नातकोत्तर तहको अध्ययन पूरा गरेका धमला व्यवसायसँगै विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा पनि सक्रिय छन्। उनी हाल रेडिमेड व्यवसायी संघ इटहरीका कोषाध्यक्ष तथा लायन्स क्लब अफ इटहरी एक्टिभका सचिव हुन्। सामाजिक सेवामा समेत सक्रिय सहभागिता जनाउँदै आएका धमला मिलनसार, हँसिला र जिम्मेवार युवा व्यवसायीका रूपमा परिचित छन्।

इटहरीका उद्योगी तथा व्यवसायीहरूले पछिल्लो समय भोगिरहेका समस्या समाधान, खस्कँदो व्यापार–व्यवसायलाई पुनः चलायमान बनाउने वातावरण सिर्जना तथा व्यवसायीहरूको हकहितका लागि आफ्नो क्षमता, अनुभव र प्रतिबद्धताका साथ काम गर्ने उनले बताएका छन्।

युवा नेतृत्व, व्यवसायिक अनुभव र सामाजिक सक्रियताका कारण दिनेश धमला यसपटकको इटहरी उद्योग वाणिज्य संघ निर्वाचनमा चासोका साथ हेरिएका उम्मेदवारमध्ये एक बनेका छन्।