दमकः गृहमन्त्री सुधन गुरुङले नेपालको पूर्वी नाकाको अवस्थाको बिषयमा अनुगमन तथा निरीक्षण गरेका छन् । सोमबार पूर्वी नाका पुगेर भन्सार कार्यालय लगायत सुरक्षा संयन्त्रको ‘ग्राउन्ड टेस्ट’ गरेका हुन् ।
उनले मेचीपुल तथा दशगजा क्षेत्रमा अनुगमन गर्दै यसलाई ब्यवस्थित गर्न आवश्यक कदम चालिने बताए । आइतबार राति झापा आएका गृहमन्त्री गुरुङले सोमबार नेपालको पूर्वी नाका मेचीनगरको काँकडभिट्टा, मेची पुल, ईट्टाभट्टा–जोरसिम लगायत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरे।
गृहमन्त्री गुरुङसँग विहानै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नं गण हे।क्वा।का सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान बिभाग झापाका प्रमुख उप अनुसन्धान निर्देशक उमेश पाण्डेले भेट गर्दै यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।
अनुगमनका क्रममा गृहमन्त्रीले चोरी–तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न, भन्सार राजस्व चुहावट रोक्न, सीमामा निगरानी बढाउन तथा सीमा क्षेत्रमा खटिने प्रहरीको व्यवस्थापन थप चुस्त बनाउन निर्देशन दिनुभयो । सुरक्षा संयन्त्रलाई परिणाममुखी ढङ्गले परिचालन गर्न उनको जोड रहेको थियो ।
मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले भन्सारको बस्तुस्थितिबारे जानकारी गराएपछि गुरुङले गुनासो नआउनेगरी काम गर्न निर्देशन दिए । उनले पुरानै ढङ्गले अब भन्सार लगायतका कार्यालहरु चल्न नसक्ने उल्लेख गर्दै परिणममुखी काम गर्नका लागि आग्रह गरे।
जोरसिमलको चेकपोष्ट हटाउन निर्देशन
अनुगमनकै क्रममा मेचीनगर–७ को जोरसिमलस्थित अस्थायी सशस्त्र प्रहरीको चेकपोष्ट तत्काल हटाउन पनि उनले निर्देशन दिएका छन् । उक्त चेकपोष्ट हटाएर सुरक्षा स्रोत–साधनलाई आवश्यकताअनुसार पुनः व्यवस्थापन गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए । जोरसिमल बिबादित क्षेत्र हो । यहाँ सीमापारबाट सामान आउँदा लेनदेन हुने गुनासो बारम्बार आएका थिए ।
प्रहरीलाई यसरी बिजोग रुपमा र अनावश्यक रुपमा राख्नु हुँदैन, उनले भने । स्थानीय निकाय र वडासँग समन्वय गरेर आवश्यक ठाउँहरुमा यस्ता चेकपोष्टहरु राख्नु पर्ने उनको भनाइ छ ।
शौचालय लगायतका कुनै पनि पूर्वाधार नदेखेपछि गुरुङले यो आजै हटाउन निर्देशन दिएका हुन्। म केही जान्दिन आजै अहिल्यै उठाउनुहोस्, उनले भने । यहाँबाट चेकपोष्ट हटाएर सीमा नै कडा गर्न उनले निर्देशन दिए ।
भारतीय नम्बरको गाडि भगाउँदा
काकड्भिट्टा बजार अनुगमन गरिरहँदा गृहमन्त्री गुरुङसहित जिल्लाका सबै सुरक्षाका प्रमुखहरुलाई देखेपछि एक भारतीय सवारी साधन भाग्न खोजेको थियो । उक्त गाडि केही मिटर पर लगेर लुकाउने प्रयास भएको थियो । तत्काल जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले उक्त गाडि नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया सुरु गर्न निर्देशन दिए ।
गृहमन्त्री गुरुङले झापाका प्रमुख जिल्ला अधिकारी गेलालसमक्ष यस बिषयमा चासो पनि राखेका थिए । “सिडिओ साव हामी यस्ता कुरामा कमजोरी गर्नु भएन, यस्ता साना कुरामा झुक्नु भएन” उनले भने। आज जे भयो र देखियो अब यस्तो नदेखियोस्, गेलाललाई मन्त्री गुरुङले निर्देशन दिए । नेपालका सवारी साधन सहजै भारत जान नपाउने तर भारतीय सवारी साधन सहजै नेपालमा आउने गरेको छ ।
स्थानीयसँग छलफल
गृहमन्त्री गुरुङले मेचीनगरकी उपमेयर मिना उप्रेती लगायतका स्थानीयहरुसँग स्थानीय सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र नागरिकका गुनासाबारे छलफल गरे । सीमावर्ती बस्तीका स्थानीले भोग्नु परेका पीडा र राज्यको उपस्थितिबारे उनले चासो राखेका थिए ।
न्याय नपाएको गुनासो
गृहमन्त्री गुरुङसमक्ष एक परिवारले १५ बर्षिया बालिकालाई बलात्कार गर्ने ब्यक्तिलाई कार्वाही नभएको र अदालतले सफाइ दिएको भन्दै गुनासो गरेका थिए । गुरुङले पीडितले राखेको कुरा बुझेर तत्काललाई त्यस बिषयमा बुझ्ने बताए । उनले पीडित परिवारको नम्बर पनि लिएर राखे । हामी अहिले तपाईलाई भेटन आएका हौ, पीडित बालिकाकी एक आफन्तले गृहमन्त्री समक्ष भने।
उपचार बन्दोबस्त गर्ने प्रतिबद्धता
यसैगरी गृहमन्त्री गुरुङले जेएनजी आन्दोलनको क्रममा घाइते झापा बुद्धशान्तिका अंकित शर्माको उपचारमा कमी हुन नदिने बताए । शर्मा अहिले पनि उपचाररत रहेका छन् । शर्माको घरमा नै गृहमन्त्री गुरुङ पुगेका हुन् । घाइते परिवार तथा स्थानीय जेएनजी आन्दोलनको मर्म र भावानालाई बुझेर अघि बढ्न गृहमन्त्री गुरुङसँग आग्रह गरेका थिए ।यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।



















