विराटनगरः कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ।
गत असार २२ गते बजेट पारित गरेपछि स्थगित भएको प्रदेशसभा बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी ऐन’ सभामा टेबल गर्ने तयारी गरेको छ। यद्यपि, बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिबाट पारित हुन बाँकी छ।
सत्ता समीकरणमा आएको परिवर्तनसँगै आजको बैठकमा प्रदेशसभाको राजनीतिक दृश्यसमेत फेरिने भएको छ। नेपाली कांग्रेस विपक्षी बेञ्चमा सर्नेछ भने विगत दुई वर्षभन्दा बढी समयदेखि प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी सत्ता पक्षको बेञ्चमा बस्नेछ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशसभाको सभाहल आगजनीबाट ध्वस्त भएपछि विराटनगर महानगरपालिकासँगको समन्वयमा वीरेन्द्र सभागृह भाडामा लिएर प्रदेशसभाको बैठक सञ्चालन हुँदै आएको थियो।
अब भने प्रदेशसभा बैठक कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक तथा खुद्रा बजारका पुराना संरचना मर्मत गरी तयार पारिएको अस्थायी सभाहलबाट सञ्चालन हुने भएको छ।
अस्थायी सभाहल रहेको परिसरमा प्रदेशसभाका संसदीय दलका कार्यालय, प्रदेशसभा सचिवालय, सभा हल, सुरक्षा गृह तथा चमेना गृहसमेत निर्माण गरिएको छ। नयाँ संरचना तयार भएपछि प्रदेशसभाको नियमित कामकारबाही सोही स्थानबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
आजको बैठकसँगै लामो समयदेखि स्थगित प्रदेशसभा पुनः सञ्चालनमा आउने मात्र नभई सत्ता समीकरण परिवर्तनपछि प्रदेशसभाको आसन व्यवस्थासमेत परिवर्तन हुने भएकाले बैठकलाई राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।




















