भोजपुरः भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण तथा घेराबारा र पर्खाल निर्माण गरिएको छ । “भोजपुर बजारको ऐतिहासिक सप्तधाराको संरक्षण गरेका छौँ,” प्रमुख ठाकुरले भने, “मुहान संरक्षण र ढुङ्गेधारा जडानसँगै आवश्यक संरचनागत काम सम्पन्न गरेका छौँ ।”

उनले आगामी दिनमा टक्सारमा रहेका तीन धाराको संरक्षण गर्ने लक्ष्य रहेको बताए। सप्तधाराका दुईवटा मुहानमा रहेका १४ वटा धारामध्ये ११ वटामा काठमाडौँबाट ल्याइएका हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनम श्रेष्ठले जानकारी दिए । धारासँगै आसपासका क्षेत्रमा आवश्यक संरचना निर्माण गरी क्षेत्रलाई व्यवस्थित बनाइएको उनको भनाइ छ ।

बजार क्षेत्रमा आउने स्थानीय तथा बाह्य आगन्तुकलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने उद्देश्यले संरक्षणको काम गरिएको अध्यक्ष श्रेष्ठले बताए । “सप्तधारा बजार क्षेत्रको महत्वपूर्ण पहिचान हो,” उनले भने, “यसलाई व्यवस्थित बनाएपछि यहाँको आकर्षण थप बढेको छ ।”

सप्तधाराको संरक्षणले ऐतिहासिक महत्व बोकेको पानीको मुहान जोगिनाका साथै बजार क्षेत्रको सौन्दर्यसमेत बढेको उद्योग वाणिज्य सङ्घ भोजपुरका पूर्वअध्यक्ष कर्ण मोक्तानले बताए । उनका अनुसार सप्तधाराको मुहानकै कारण भोजपुर बजार स्थापना भएको भन्ने स्थानीयको भनाइ छ ।

“सप्तधाराको मुहान भएकै कारण यहाँ बस्ती विकास हुँदै बजार स्थापना भएको भन्ने भनाइ छ,” मोक्तानले भने, “स्थानीय जानकारका अनुसार विसं १९६५ तिर यस क्षेत्रमा बस्ती विस्तार भएको हो ।”

सप्तधाराको अर्को विशेषता कुनै पनि खडेरीमा मुहान नसुक्नु रहेको मोक्तानले बताए। बजार क्षेत्रको बीचमा यति ठूलो र निरन्तर पानीको स्रोत देख्दा बाहिरबाट आउने मानिस आश्चर्यमा पर्ने गरेको उनको भनाइ छ । ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताए ।

सप्तधाराले बजार क्षेत्रको खानेपानीको आवश्यकता पूरा गर्नाका साथै सिँचाइका लागिसमेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले बताए । वडा कार्यालयले सप्तधारा क्षेत्रको विकास तथा संरक्षणका लागि आवश्यक सहयोग गर्दै आएको उनले जानकारी दिए ।

“सप्तधारा बजार क्षेत्रको सुन्दरताको केन्द्रसमेत हो,” वडाध्यक्ष तामाङले भने, “यसको संरक्षण र विकासमा स्थानीय तहले आवश्यक सहयोग गर्दै आएको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउन सकिन्छ ।”

सप्तधारा भोजपुर नगरपालिका–७ र ९ को सिमाना क्षेत्रमा अवस्थित छ । ऐतिहासिक पानीको मुहानका रूपमा रहेको सप्तधारा बजारवासीका लागि पानीको स्रोतसँगै बजारको पहिचान र आकर्षणको केन्द्रका रूपमा रहँदै आएको छ ।रासस