झापाः जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन बरामद गर्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारेका २० वर्षीय सुमन कर्ण रहेका छन्। उनी दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार कर्णले सटगन लुकाएर राखेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा खोजतलास गरेको थियो।

खोजीका क्रममा प्रहरीको कम्बलमा पोको पारेर लुकाइएको अवस्थामा सटगन फेला परेको हो। प्रहरीले हतियारसहित कर्णलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएको जनाएको छ।

बरामद सटगनको नम्बर १२११११४ रहेको प्रहरीले जनाएको छ। सटगनको ब्यारेल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको थियो।

प्रहरीले हतियार रीतपूर्वक बरामद गरी कर्णलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनामा उनको संलग्नता तथा हतियार कसरी लुकाइएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।