झापाः झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारी होटलमा लगेर यौन शोषणमा संलग्न गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९, देवीझोडाकी हाल दमक बस्दै आएकी जुनु भनिने पार्वती ऋषिदेव र दमक नगरपालिका–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी छन्।
प्रहरीका अनुसार ऋषिदेवले बालिकालाई ललाइफकाई तथा प्रलोभनमा पारी दमकस्थित होटलमा पुर्याएको र होटल सञ्चालक अधिकारीले उनलाई यौन शोषणमा लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अधिकारीले सञ्चालन गर्दै आएको मनकामना होटल एण्ड लजमा बालिकालाई लगेर यौनधन्दामा संलग्न गराएको आरोप उनीहरूमाथि छ।
बालिका साउन ३१ गते घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएकी थिइनन्। परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि प्रहरीले उनको खोजी थालेको थियो। सोही क्रममा बालिकाको अवस्थाबारे जानकारी पाएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















