इनरुवाः सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० पुष्पराज मल्लले डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत अपराध नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने बताएका छन्।
जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक सोमबार सदरमुकाम इनरुवामा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा एसपी मल्लले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने बताएका हुन्।
उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। खुला सीमाका कारण सुनसरीमा देखिने विभिन्न सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्ने उनको भनाइ छ।
पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधिको निगरानी, अनुसन्धान तथा सूचना सङ्कलनलाई प्रभावकारी बनाउन अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग बढाइने उनले बताए। जिल्लाका संवेदनशील क्षेत्रमा सीसीटीभी सञ्जाल विस्तार गरी सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने तयारी रहेको उनले जानकारी दिए।
सीमा नाकाबाट हुने चोरी–पैठारी, तस्करी तथा राजस्व छली नियन्त्रणका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने उनले बताए।
युवा पुस्तामा बढ्दै गएको लागुऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको एसपी मल्लले बताए। उनका अनुसार लागुऔषधको अवस्था पहिचान गर्न वडास्तरबाट तथ्याङ्क सङ्कलन गरी जोखिमका आधारमा लक्षित अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
‘शान्ति सुरक्षा कायम गर्नु र नागरिकलाई सुरक्षित महसुस गराउनु प्रहरीको मुख्य दायित्व हो,’ उनले भने, ‘यसका लागि परम्परागत कार्यशैलीमा मात्र निर्भर नभई प्रविधिको अधिकतम प्रयोग गरिनेछ।’
अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै एसपी मल्लले स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी तथा आम नागरिकबीचको सहकार्य आवश्यक रहेको बताए। उनले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छन्। रासस




















