रसुवाः भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवाको उत्तरगया गाउँपालिकासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै गाउँपालिका अध्यक्ष माधव अर्यालले उद्धार तथा राहतमा संघीय सरकारको उपस्थिति प्रभावकारी रूपमा महसुस हुन नसकेको गुनासो गरेका छन्।


बाढी प्रभावित क्षेत्रमा स्थलगत रूपमा खटिएका अध्यक्ष अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्को भयावह अवस्थाबारे जानकारी गराउँदै सरकारसँग तत्काल उद्धार, राहत र उपचारको प्रभावकारी व्यवस्था गर्न आग्रह गरेका हुन्।


उनका अनुसार बाढीको सूचना जारी गर्न खटिएका गाउँपालिकाका चार जना कर्मचारी अझै बेपत्ता छन् भने सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचानपछि दाहसंस्कार गरिएको छ। कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकसमेत सम्पर्कविहीन रहेको उनले बताएका छन्।


वेत्रावती बजार, कैदलेटार, पैरेबेँसी, सल्लेटार, मैलुङलगायत क्षेत्रमा अकल्पनीय मानवीय क्षति भएको अध्यक्ष अर्यालको भनाइ छ। भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका करिब ३०० परिवारसमेत बाढीबाट प्रभावित भएको उनले उल्लेख गरेका छन्।


त्यस्तै, त्रिशूली–३ बी जलविद्युत् आयोजना तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका नेपाली तथा विदेशी कामदार सम्पर्कविहीन भएको उनले बताएका छन्। कतिपय कामदार सुरुङभित्र फसेको खबर आएको उनको भनाइ छ। गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका यात्रुसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेको उनले उल्लेख गरेका छन्।


सडक सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा उद्धार तथा राहतमा थप कठिनाइ भएको र विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कसमेत प्रभावित भएको अध्यक्ष अर्यालले बताएका छन्।


उनले बाढी प्रभावित क्षेत्रमा नदी किनारमा ५० भन्दा बढी शव देखिएको दाबी गर्दै पहिचान भएका शवसमेत दाहसंस्कार गर्न स्थानीय प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ पाएको बताएका छन्। शव व्यवस्थापन तत्काल गर्न नसक्दा गाउँमा दुर्गन्ध फैलिन थालेको र यसले संक्रमणको जोखिम बढाएको उनको भनाइ छ।


मरणासन्न अवस्थामा रहेका घाइतेलाई उद्धार गर्न प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गरी हेलिकप्टरको प्रतीक्षा गर्दासमेत सुनुवाइ नभएको उनले गुनासो गरेका छन्। कालिकास्थान–जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पताल पुर्‍याउनुपर्ने अवस्था आफूहरूले भोगेको उनले बताएका छन्।


अध्यक्ष अर्यालले सरकारको उद्धार तथा राहत प्रयासप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।’ केही क्षेत्रमा बाहेक विपद्का बेला जनताले अनुभूति गर्ने गरी सरकारी उपस्थिति देखिन नसकेको उनको दाबी छ।


गृह मन्त्रालयको सचिवालयबाट आफूलाई फोन गरेर ‘नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न’ आग्रह गरिएको समेत उनले बताएका छन्। त्यसको जवाफमा आफूहरूले आवाज उठाउन नपर्ने अवस्था सिर्जना गर्न र सरकार भएको अनुभूति गराउन आफूले आग्रह गरेको उनले उल्लेख गरेका छन्।


उनले आफ्नो पार्टी नेकपा एमालेका नेताहरूप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक पार्टीका अन्य नेताबाट आफूलाई खोजी नगरेको बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा सुरेन्द्र पाण्डेसहित देशभरका नेता तथा सहयोद्धाले भने चासो र चिन्ता व्यक्त गरेको उनले उल्लेख गरेका छन्।


अध्यक्ष अर्यालले विपद्को समयमा सामाजिक सञ्जालमा मात्र प्रतिक्रिया जनाउनेभन्दा प्रभावित क्षेत्रमा पुगेर जनताले अनुभूति गर्ने गरी काम गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन्।


यस्तो छ अहिलेको अवस्था


उत्तरगया गाउँपालिकाले करिब ३५० जना प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखेको अध्यक्ष अर्यालले बताएका छन्। कालिका र नौकुण्ड गाउँपालिकाबाट प्राप्त खाद्यान्नले करिब तीन दिन धान्ने अवस्था रहेको उनले जानकारी दिएका छन्।


विद्यालयको भुइँमा कालो म्याट्रेस ओछ्याएर प्रभावितहरूले रात बिताउनुपर्ने अवस्था रहेको छ। केही स्थानीयले भने आफ्नै घरमा प्रभावित परिवारलाई आश्रय दिएका छन्।


नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई उनीहरूको संवेदनशील अवस्थाअनुसार आवश्यक विशेष सहयोग गर्न नसकिएको अध्यक्ष अर्यालले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा बिरामीको संख्या बढिरहेको भन्दै तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने उनले बताएका छन्। पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै मानिस रहेको र त्यहाँ खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव भएको जानकारी आएको उनले उल्लेख गरेका छन्।


त्रिशूली नदीको वारिपारि फसेका तथा परिवारबाट छुट्टिएका व्यक्तिलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ।


यसैबीच, घरबारविहीन परिवार, सम्पर्कविहीन व्यक्ति, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको अध्यक्ष अर्यालले बताएका छन्।


प्रमुख जिल्ला अधिकारीसँग बिहीबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारदेखि सुरु हुने जानकारी प्राप्त भएको उनले बताएका छन्। स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर राज्यको नजरमा ओझेलमा परेका क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन्।


अध्यक्ष अर्यालले आफ्नो अभिव्यक्ति नकारात्मकता फैलाउने उद्देश्यले नभई प्रभावित नागरिकको वास्तविक अवस्थालाई सरकारसमक्ष पुर्‍याउन बाध्य भएर सार्वजनिक गरेको स्पष्ट पारेका छन्।