झापा/ पछिल्लो समय लागूऔषधमा संलग्न कारोबारीहरूले महिला र बालबालिकालाई प्रयोग गर्न थालेका छन् ।
केही समयअघि दमक–१४ बस्ने २५ वर्षीया अस्मिता भन्ने कोपिला तामाङलाई ४ केजी चरेशसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मुख्य ढोकाबाटै प्रहरीले पक्राउ गरेको थियो ।
काँकरभिट्टाबाट भारतको पानीट्यांकीतर्फ जाँदै गर्दा करिब ४ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित लागू औषधसहित उनलाई पक्राउ गरिएको घटना सेलाउन नपाउँदै सोमबार दमक–९ बस्ने २० वर्षीया रुपा पाण्डे १५ ग्राम ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेपछि यसमा संलग्न कारोबारीहरूले पछिल्लो समय महिलालाई प्रयोग गर्ने गरेको रहस्य खुलेको हो ।
भारतको पानीट्यांकीबाट काँकरभिट्टातर्फ आउँदै गर्दा लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकका प्रहरीले शंका लागी जेकजाँच गर्दा महिलाले बोक्ने हाते ब्यागमा उक्त परिमाणको ब्राउन सुगर फेला परेको थियो । यी त थोरै यस्ता पात्र हुन् । उनीहरू जस्ता धेरै महिलाको नाम प्रहरीसँग सुरक्षित छ ।
पक्राउ परेकी पाण्डेको बयानका आधारमा प्रहरीले मेचीनगर–६ का २३ वर्षीय केशरमान राईलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त परिमाणको लागू औषध काठमाण्डौं लैजाने तयारीका साथ नेपाल भित्र्याइएको थियो । प्रहरीले दुवैलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थपी अनुसन्धान शुरु गरेको छ ।
यसैगरी, मोरङको पथरी शनिश्चरे–१ का ११ वर्षीय करण दास ५१ एम्पुल इन्जेक्सनसहित काँकरभिट्टामा पक्राउ परे । उनलाई प्रयोग गरेका थिए सोही ठाउँका एक व्यक्तिले । दाहिने खुट्टामा बाँधेर लागू औषध ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् । २ सय रुपैयाँ दिने शर्तमा उनलाई कारोबारीले प्रयोग गरेको प्रहरीले बताएको छ ।
‘मलाई २ सय रुपैयाँ दिने भनेर खुट्टामा बाँधेर लागू औषध ल्याउन लगाएका हुन्’, उनको भनाई उद्धृत गर्दै एक जना प्रहरी अनुसन्धान अधिकृतले बताए । यसले पनि पुष्टि गर्छ लागू औषध ओसारपसारमा बालबालिकाको प्रयोग बढ्न थालेको छ भनेर । उनलाई पथरीबाट लिएर आउने र सो लागू औषध ३ हजार रुपैयाँमा खरिद गर्ने सोही ठाउँका १९ वर्षीय अजय लिम्बू पनि पक्राउ परेका छन् ।
पुरुषहरू प्रहरीको बढी निगरानीमा पर्ने र महिला तथा बालबालिकालाई खासै चेकजाँच नगर्ने सोचका कारण कारोबारीले महिला तथा बालबालिकालाई प्रयोग गर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईको भनाइ छ ।
‘बालबालिकालाई प्रहरीले खासै यादै गर्दैन भन्ने विश्वास छ कारोबारीलाई । त्यही सोचेर पछिल्लो समय बालबालिकाको प्रयोग बढेको छ’, भट्टराईले भने, ‘भारतका विभिन्न ठाउँमा पुगेर धेरै महिलाले लागू औषध सेवन गरी आउने भए पनि ओसारपसारमा खासै महिला संलग्नता देखिएको थिएन । तर पछिल्लो समय ओसारपसारमा महिलाको संलग्नता एक्कासी बढेको छ ।’ उनीहरू ‘क्यारियर’का रुपमा परिचालित रहेको उनको भनाइ छ ।
समाजमा विद्यमान समस्याको रूपमा रहेको लागु औषध दुव्र्यसनी तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफैँ जागरुक हुनुपर्ने लामो समयदेखि लागूऔषधविरुद्ध विभिन्न काम गर्दै आएको नाइट चेस क्लब काँकरभिट्टाका अनुगमन अधिकृत गोविन्द न्यौपानेको भनाइ छ ।
दुव्र्यसनमा फसेकाहरूले उपचार पाउनु उनीहरूको अधिकार हो तर कुलतमा फस्नु अधिकारभित्र नपर्ने उनी बताउँछन् । लागूऔषध दुव्र्यसन नेपालको मात्र समस्या नभएर विश्वकै भएकाले दुव्र्यसनीलाई अपराधीको जस्तो व्यवहार नगरी उपचार गर्नुपर्ने एक पूर्व लागूऔषध प्रयोगकर्ताको भनाइ छ ।
लागूऔषध ऐन २०३३ मा लागूऔषध उत्पादन, भण्डारण, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई २ वर्षदेखि १५ वर्षसम्म कैद वा २ लाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई १ महिनाको कैद तथा २ हजार रुपैयाँ जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।
लागूपदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ । यसले व्यक्ति आफँै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रिय रूपमै खतरा पैदा गर्दछ । यसकारण पनि यसबाट बच्नका लागि सबैले बेलैमा ध्यान दिन जरुरी रहेको क्लबका पूर्व अध्यक्ष तथा स्वास्थ्यकर्मी दिलीप सुवेदी बताउँछन् ।
उनी भन्छन्, ‘रोग लागेर औषधि गर्नु भन्दा रोगको बाटो छेक्नु नै जाति’ भनेझैँ यसको सेवनबाट हुने विभिन्न प्राणघातक रोग लागेर अकालमै मृत्यु वरण गर्नुभन्दा यसको सेवनदेखि टाढै बस्नु बुद्धिमानी होला ।’