सङ्खुवासभाः सङ्खुवासभा जिल्लामा गिटीको अभाव हुँदा पुल निर्माण ठप्प बनेको छ ।

गिटी अभावमा खाँदबारी नगरपालिकामा पर्ने पांमा खोला र माल्टा खोलामा निर्माणाधीन २ वटा पुलको निर्माण कार्य ठप्प बनेको हो । जिल्लाको खाँदबारी नगरपालिकामा पर्ने सभा खोलामा रहेको क्रसर केही समय अगाडि वन कार्यालयले अवैध भन्दै बन्द गरेपछि हाल जिल्लामा गिटीको अभाव भएको हो ।

खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने पांमा खोलामा निर्माणाधीन पुलको निर्माणकार्य ठप्प बनेको हो । एसएनआरटीपीको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको पुलको हाल एउटा पिलर पनि बनाइएको छैन ।

२ करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस.ए.एस. जेभीले पुल निर्माणको ठेक्का लिएको छ । आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलर पनि बनेको छैन । गिटी अभावमा पुल निर्धारित समयमा बनिसक्न कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताए ।

‘हामीले यो पुल एक वर्षमा निर्माण सम्पन्न हुन्छ भनेका थियौँ,’ उनले भने, ‘तर गिटीको अभावमा हामी पुल निर्माण गर्न असमर्थ भयौं ।

माल्टा खोलाको पुल पनि उस्तै छ हालत
यता, आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । सो पुलमा पिलर हाल्नको लागि जग खनिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन ।

२ करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अरुणवरुण जेभीले पाएको छ । पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाका अनुसार १ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गिटीको अभावले पुल निर्माण प्रभावित भएको हो ।

‘हामीले एक वर्षमा सक्ने गरी पुलको जिम्मा लिएका थियौँ । तर अब त्यो सम्भव छैन । हामीले भनेजसरी काम गर्न सकेका छैनाँै त्यसको कारण गिटी नै हो,’ उनले भने, ‘हामीले पटकपटक सम्बन्धित निकायमा गिटी अभाव भयो भनेर पत्राचार गर्दा समेत हाम्रो माग पूरा भएन । गिटी अभावले गर्दा समयमा पुल निर्माण गर्न सक्दैनौं ।’

सबै विकास निर्माणका योजना ठप्प
सङ्खुवासभामा प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहले भारी मात्रामा विकास निर्माणका योजना ल्याएका छन् । तर ती सबै योजना गिटी अभावका कारण हाल ठप्प भएका हुन् ।

नेकपाका नेता खड्ग राईका अनुसार गिटीको अभाव प्रायः सबै योजना ठप्प हुँदा त्यसको मारमा पांमा खोला र माल्टा खोला परेको छ । चाँडै गिटीको व्यवस्था गर्न नसके कामदारले काम छोडेर हिँड्ने अवस्था आएको राईले बताए ।

दुग्ध उद्योग सञ्चालक समेत रहेका राईले पुल निर्माण नहुँदा त्यसको प्रत्यक्ष असर किसानमा पनि परेको बताए । ‘जिल्लामा गिटी अभाव छ । त्यसको अभावमा पुल बन्दैन’, उनले भने, ‘पुल नबनेपछि किसानले दिएको दूध सङ्कलन गर्न सकेका छैनौँ । त्यसैले किसानहरूलाई समेत असर पुगेको छ ।’

गिटीको अभावमा जिल्लाको विकास निर्माणको काम प्रभावित बनेको नेपाल निर्माण व्यवसायी सङ्घका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । उनले भने, ‘जिल्लामा गिटी उत्खनन बन्द तथा क्रसर बन्द भएपछि पुल, सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या छ ।’ श्रेष्ठले सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गरे पनि बेवास्ता गरिएको बताए ।

किन भएन सर्वदलीय बैठकको निर्णय कार्यान्वयन
केही समयअघि जिल्लामा बसेको सर्वदलीय बैठकले क्रसर चलाउन दिने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यका अनुसार जिल्लाको सर्वदलीय बैठकले क्रसर सञ्चालन गर्न दिने निर्णय गरे पनि जिल्ला वन कार्यालयले सामुदायिक वन क्षेत्रमा क्रसर चलाउन नदिने भन्ने अडान लिएकाले सञ्चालन नभएको हो । यस सम्बन्धमा पुनः बैठक बसेर समस्याको समाधान खोज्ने उनले बताए ।

giti abhabma kam prabhawit sankhuwasava  (2)