विराटनगर/ घर–घरमा फलफूलका बिरुवा रोपेर शहरलाई हरितनगर बनाउने र आर्थिक आय–आर्जन बढाउने अभियानले विराटनगरमा निकै चर्चा पाएको छ ।

निम्न आर्थिक आय भएका घरपरिवारका करेसाबारीमा फलफूलका बिरुवा रोपाउने अभियानले विराटनगरमा सार्थकता पाउँदै गएको छ ।

महानगरलाई हरितनगर बनाउने तयारीमा सहयोग पुग्ने अभियानमा सामाजिक अगुवादेखि उद्योगी–व्यवसायीको संलग्नता छ । सार्वजनिक तथा पर्ती जमिनमा वृक्षरोपण कार्यक्रम प्रभावकारी नभएपछि अहिले घरघरमै फलफूलका बिरुवा रोप्ने अभियान चलेको हो ।

यो अभियानमा औद्योगिक प्रतिष्ठान देवेनरा समूहले बिरुवा उपलब्ध गराएको छ । माग गर्नेहरूका लागि देवेनरा समूहले उपलब्ध गराएका फलफूलको बिरुवा रोप्ने काममा लायन्स क्लबले सहयोग गर्दै आएको छ । मारवाडी मित्र समाज र विराटनगरमा सक्रिय लायन्स क्लबले कमजोर आर्थिक आय–आर्जन भएका घरपरिवारको करेसालाई खाली राख्नुभन्दा बिरुवा लगाउन अनुरोध गर्ने गरेका छन् । त्यसपछि घरधनी सहमत भए मात्रै बिरुवा उपलब्ध गराएर रोप्ने गरिएको छ ।

विराटनगरमा गत वर्षदेखि नै शुरु भएको यो अभियानले नगरमा १ हजार फलदायी बिरुवा रोपिएका छन् । महानगरको सार्वजनिक तथा पर्ती जमिनमा रोपिने बिरुवाको संरक्षणमा चासो नहुने र जाग्दै नजागी मर्ने गरेकाले घरका करेसामा फलफूलका बिरुवा रोपेर संरक्षणको जिम्मेवारी घरमूलीलाई दिने काम गत वर्षदेखि नै थालिएको थियो । गत वर्ष रोपिएकामध्ये अधिकांश घरमा बिरुवा जागेपछि यसपटक बिरुवा रोप्न चाहनेको संख्या थपिँदै गएको छ ।

घरधनीले रोपेर जगाउने प्रतिबद्धता जाहेर गरेपछि मात्रै बिरुवा उपलब्ध गराउने गरिएको फलाहार वृक्षरोपणका अभियन्ता एवं उद्योगी देवकिसन मुन्दडा बताउँछन् । उनले गत वर्षदेखि शुरु भएको अभियानमा १ हजार ५ सय फलाहार बिरुवा रोपिसकिएको दाबी गरे ।

अभियानकै क्रममा गत वर्ष कटहरी गाउँपालिका भित्रका २ सय घरमा ४ सय बिरुवा रोपिएका थिए । महानगरभित्र ३ सय बिरुवा गत वर्ष नै रोपिएको थियो । तीमध्ये अधिकांश फलाहार बिरुवा जागेकाले यस वर्ष अभियानलाई निरन्तरता दिइएको उद्योगी मुन्दडाले बताए ।

विराटनगरमा वितरण गरिँदै आएका बिरुवामध्ये आँप सबैभन्दा बढी छ । त्यसपछि लिची र अम्बाका बिरुवा रोप्ने इच्छुकसमेत उत्तिकै छन् । ठाउँ र स्थान हेरेर कुन बिरुवा कसरी बढ्छ र फैलन्छ भनेर मात्रै उपलब्ध गराइन्छ । घर र बाटोलाई अवरोध नहुने गरी बिरुवा रोप्नुपर्ने र जागेपछि त्यसको संरक्षण गर्नुपर्ने घरमूलीको जिम्मेवारी छ ।

माग अनुसार अहिलेसम्म आँपकै बिरुवा बढी रोपिएको छ । खाली रहेको करेसाबारीमा रोपिने यस्तो बिरुवाले दिने फल घरकै लागि प्रयोगमा आउनेदेखि बिक्रीबाट आय–आर्जनको बाटो समेत लिने आधार बन्न सक्ने अभियन्ताको भनाइ छ ।

विराटनगर पोखरियास्थित ठेकीटोलका देवनारायण सहनीले उन्नत आँपका ३ वटा बिरुवा रोप्ने अवसरले आफूलाई उत्साहित बनाएको बताएका छन् ।

बर्सेनी आयात गरेर बजारमा आएको आँप किन्नुपर्ने बाध्यतालाई समेत घरघरमै उन्नत र मिठो स्वादको आँप उत्पादनले घटाउन सक्ने लायन्स क्लब ३२५ एवनका पूर्व डिष्ट्रिक गभर्नर एवं उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको भनाइ छ । नगरभरिका हरेक घरमा सम्भव नभए पनि सम्भव हुने घरमा फलफूलका बिरुवा लगाउँदा आँपको आयात प्रतिस्थापन हुन सक्ने घिमिरेको बुझाइ छ ।

महानगरलाई हरितनगरको रूपमा विकास गर्ने अवधारणामा फलाहार बिरुवा वितरण प्रभावकारी बन्ने देखिएपछि विराटनगर महानगरले पनि एक घर एक बिरुवाको अवधारणालाई कार्यान्वयनमा ल्याउन फलफूलकै बिरुवा उपलब्ध गराउने योजना अगाडि सार्ने भएको छ ।

महानगरका प्रमुख भीम पराजुलीले सामाजिक अगुवाले देखाएको बाटोले महानगरको सडक संरचना निर्माण सम्पन्नसँगै हरितनगर बनाउने योजनाले सार्थकता पाउने आधार देखिएको बताएका छन् ।