सङ्खुवासभाः सङ्खुवासभामा रहेको अरुण तेस्रो परियोजनामा कार्यरत कामदारका लागि प्रयोग हुने खाद्य सामग्रीसमेत भारतबाटै आयात हुने गरेको छ ।
सामान्य खाद्यसामग्री तथा तरकारीबाहेक प्रायः भारतबाटै ढुवानी हुने गरेको छ । यसरी आउने सामग्री विभिन्न ठाउँमा बसेका चेकपोस्ट र सुरक्षाकर्मीले समेत वास्ता गर्दैनन् । यसका कारण के र कति परिमाणमा भित्रिरहेको छ भनेर पनि थाहा हुँदैन । 

केही निर्माण सामग्री नेपालकै प्रयोग भए पनि त्यहाँका कर्मचारी र कामदारका लागि प्रयोग हुने खाद्य सामग्रीलगायत सामग्री भारतबाटै आयात हुन्छ । नेपालका उद्योगी, व्यवसायी युवा तथा योजनास्थलका स्थानीय आयोजना निर्माणमा आफ्नो सहभागिता खोजिरहेका छन् ।
परियोजनामा कार्यरत जनशक्तिका लागि हप्ताको ५ सय किलोग्राम तरकारी प्रयोग हुन्छ । व्यापारी धीरज चौधरीले त्यहाँका लागि तरकारी आपूर्ति गर्दै आएका छन् । सस्तो हुने हुँदा प्रायः तरकारी सङ्खुवासभा बाहिरबाटै आउने गरेको उनी बताउँछन् ।

निर्माणाधीन अरुण तेस्रो परियोजनामा स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग हुन आवश्यक रहेको सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज शाक्यको भनाइ छ । नेपालमा उत्पादन भएका कतिपय रड, सिमेन्ट लगायतका कच्चा पदार्थ अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादन छन् ।
यस्ता वस्तु नेपालकै प्रयोग गर्नुपर्ने माग अयोजनामा राख्दा निर्माण पक्षले नेपालकै लगानी बोर्डसँग माग राख्न सल्लाह दिएको सङ्घका अध्यक्ष शाक्यले बताए । नेपाली व्यवसायी र व्यापारीले उपलब्ध गराउन नसक्ने सामान मात्र भारतबाट ल्याउनुपर्ने शाक्य बताउँछन् ।

स्थानीय क्षेत्रमा आयोजना सञ्चालनमा आए पनि नेपालको बजारमार्फत् निर्माण सामग्री र उपभोग्य वस्तु प्रयोग नगर्ने हो भने, यहाँका व्यापारी र व्यवसायीले लाभ लिन नसक्ने उद्योग वाणिज्य सङ्घ सङ्खुवासभाका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधानले बताए ।

स्थानीय व्यापारी सुमन श्रेष्ठका अनुसार राष्ट्रिय उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्न यस्ता राष्ट्रिय योजनामा ती उद्योगको उत्पादन प्रयोग हुनु आवश्यक हुन्छ । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालमा उत्पादन भएका निर्माण सामग्री ठूला आयोजना प्रयोग नगर्ने हो भने नेपाली उद्योग नै धराशायी बन्छन्’, उनले भने ।
यस्तै, आयोजना प्रभावित क्षेत्रका जनतालाई उत्पादनमा जोडेर दूध, अण्डा, मासु, तरकारीजस्ता वस्तु उत्पादनमा स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । ‘त्यहाँका कर्मचारी र कामदारका लागि आवश्यक सामग्री यहीं नपाएकाले बाहिरबाट ल्याउनु परेको उनी बताउँछन्’, उनले भने, ‘उत्पादन बढाउन हामीले पनि ध्यान दिनुपर्छ ।’

अधिकांश भारतीय कामदार
अरुण तेस्रो परियोजनामा खटिएका अधिकांश कामदार भारतीय छन् । हाल सो आयोजनामा २ हजार ६५ जना कामदार छन् । त्यसमा अधिकांश कामदार भारतीय छन् ।
भारतका विभिन्न जलविद्युत् परियोजनामा काम गरेका दक्ष तथा अदक्ष मजदुर सो परियोजनामा संलग्न छन् । उनीहरूका लागि आवास तथा खानाको व्यवस्था त्यहीँ गरिएको छ ।
‘यहाँ नेपालीभन्दा भारतीय कामदार बढी छन्’, आयोजनामा कार्यरत मोरङका एक व्यक्तिले भने, ‘नेपालीले धेरै बिदा लिने भएकाले भारतीय कामदारलाई बढी प्राथमिकता दिने गरिएको छ ।’ नेपाली कामदारमा पश्चिम नेपालका बढी छन् ।
आयोजनाका लागि कार्यरत भारतीय कामदार धर्मराजका अनुसार भारतीय र नेपाली नै भए पनि तराईका नेपाली बढी छन् । उनका अनुसार स्थानीय कामदार भए भने धेरै बिदा लिन्छन् ।

स्थानीय क्षेत्रमा आयोजना सञ्चालनमा आए पनि प्रभावित क्षेत्रका जनताले रोजगारी पाउन नसकेको मकालु गाउँपालिकाका हितकुमार कार्कीले बताए । उनले भने, ‘आफ्नो ठाउँमा आयोजना सञ्चालनमा हुँदा रोजगारीका अवसर प्राप्त हुन्छ भन्ने आशा सबैले गरेका थिए । तर भारतीयले नै बढी अवसर पाएका छन् ।’
स्थानीयलाई तालिमको अवसर दिइने भनिए पनि कसैले यसमा ध्यान नदिएको कार्की बताउँछन् । स्थानीय उत्पादन प्रयोग नगरी ठेकेदारमार्फत् जिल्ला बाहिर र भारतबाट ल्याइएको उपभोग्य वस्तु प्रयोग गर्ने गरेको उनको भनाइ छ । आयोजनाका काम अगाडि बढिसक्दा पनि स्थानीयले रोजगारीको अवसर नपाएपछि स्थानीय निराश बनेका छन् ।

आयोजनामा प्रभावित क्षेत्रका कामदारको प्रयोगसमेत कम भएकाले स्थानीयलाई रोजगारीको वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले बताए । आयोजनामा हाल २ हजार ६५ जना श्रमिकले काम गरिरहेका छन् । नेपाली पक्षले भने धेरै सङ्ख्यामा भारतीय कामदार नै लगाउने गरिएको बताउँदै आएका छन् ।

विद्युत् विकास सम्झौता (पीडीए)मा गरिएको व्यवस्थाअनुसार स्थानीयलाई रोजगारी र स्थानीय स्तरमा उत्पादन भएको खाद्यवस्तुको उपभोग नभएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् । स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिइने, अदक्ष, अर्ध दक्ष र दक्ष युवालाई सोहीअनुसारको रोजगारी दिने भनिए पनि अहिलेसम्म कसैलाई त्यस्तो सुविधा नदिएको मकालु गाउँपालिकाका स्थानीय वसन्त मेघी गुरुङको भनाइ छ ।
अरुण तेस्रो परियोजनालाई पूर्वी नेपालको भाग्य कोर्ने सीमित परियोजनामध्ये एक मानिन्छ । जोगबनी–किमाथाङ्का नाका र अरुण परियोजनाले समग्र प्रदेश १ लाई नै धनी बनाउने अपेक्षा गरिएको छ । तर, त्यही परियोजनामा नेपाली सामान तथा श्रमको प्रयोग नहुनुले सङ्खुवासभाका व्यापारी तथा स्थानीयलाई चिन्ता थपिएको छ ।

कामदारको स्वास्थ्य परीक्षण हँुदैन
अरुण तेस्रो परियोजना निर्माणमा अत्याधिक भारतीय कामदार छन् । आयोजना स्थलमा काम गर्ने कामदारको बेला बेलामा स्वास्थ्य परीक्षण गर्नुपर्ने पीडीएमा उल्लेख छ । तर, आजसम्म ती कामदारको स्वास्थ्य परीक्षण भएको पाइएको छैन । बेलाबेलामा ती कामदारको स्वास्थ्य परीक्षण नहँुदा महामारी फैलन सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

आयोजना प्रभावित क्षेत्र नुम बजारमा केही समय अगाडि भाइरल हेपाटाइटिस भेटिएको नुम जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो भाइरल पानीबाट सर्ने हो । त्यस बेला झण्डै महामारीको रूपमा नै भाइरल भेटिएको कार्यालयले जनाएको छ ।
नुम प्राथमिक स्वास्थ्य स्वास्थ्य केन्द्रका प्रमुख सुनिलराज गौतमका अनुसार हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र नुममा अरुण तेस्रोका कामदारको भनेर पहिचान हुने गरी कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन ।

ठूलो सङ्ख्यामा भारतीय कामदार हुनु र बेलाबेलामा तिनीहरुको स्वास्थ्य परीक्षण नहुनुले महामारी फैलन सक्ने भन्दै जिल्ला अस्पताल खाँदबारीका स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । ठूलो सङ्ख्यामा भारतीय कामदार थपिँदा महामारीसँगै एचआइभी, एड्स, हेपाटाइटिस लगायतका प्राणघातक रोगसमेत फैलन सक्ने भन्दै बेलाबेलामा कामदारहरूको स्वास्थ्य परीक्षण गर्न सरोकारवालाको ध्यान पुग्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताए ।

समयमै नसकिने चिन्ता
९ सय मेगावाटको उक्त विद्युत् परियोजना सन् २०२२ भित्र निर्माण सम्पन्न गर्ने सतलज निर्माण कम्पनीले जनाएको छ । गत वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले परियोजनाको शिलान्यास गरेका थिए । आयोजना प्रवद्र्धक कम्पनीका सिइओ शतिसकुमार शर्माका अनुसार हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।

उक्त परियोजनाको काम पावर हाउस स्थल पुखुवा र ड्यामसाइड स्थल फ्याक्सिन्दामा निर्माण क्षेत्रमा धमाधम काम अगाडि बढिरहे पनि परियोजनाबाट स्थानीय खुशी छैनन् । अहिले यस क्षेत्रमा २४ घण्टा नै काम भइरहेको छ । बाँध क्षेत्रमा भारतीय जय प्रकाश एसोसियट्स निर्माण कम्पनीले काम गरिरहेको छ । पावर हाउस निर्माण क्षेत्रमा भारतकै पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम अगाडि बढाइरहेको छ ।