काठमाडौँः वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रण गर्न तेह्र बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को दुई दिने महासभा शुक्रबार सम्पन्न भएको छ । 


क्षेत्रीय स्तरमा वन्यजन्तु अपराध नियन्त्रण गर्न साझा अभियान चाल्ने प्रतिवद्धताकासाथ बिहीबारदेखि काठमाडौँमा सार्कस्तरीय सञ्जालको पहिलो महासभा सुरु भएको थियो । 


सार्क मुलुकहरू बङ्गलादेश, भुटान, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका वन तथा वातावरण मन्त्रीहरू, कानुन कार्यान्वयनसँग सम्बन्धित विशिष्ट अधिकारीहरू, वन्यजन्तु विज्ञहरू र अन्तर्राष्ट्रिय संरक्षण साझेदारहरूका प्रतिनिधिहरूको सहभागिता रहेको महासभाले वन्यजन्तु अपराधका घटनाहरू सार्क मुलुकहरूमा बढ्दै गएको प्रति चिन्ता पनि व्यक्त गरेको छ । 


महासभामा अन्तरदेशीय अपराध नियन्त्रण गर्न दक्षिण एसियामा वन्यजन्तुको अवैध व्यापार र अन्तरदेशीय संगठित अपराधलाई रोक्न, पत्ता लगाउन र सामना गर्न सबै मुलुकको दृढ राजनीतिक प्रतिबद्धता व्यक्त गरिएको छ ।


वन्यजन्तु सम्बन्धी फौजदारी न्याय प्रणालीमा सुधार गर्न संगठित आपराधिक सञ्जालहरूलाई नियन्त्रण गर्न सूचनामा आधारित वित्तीय अनुसन्धान, सम्पत्ति शुद्धीकरण निवारण र प्रभावकारी अभियोजन जस्ता समन्वयात्मक फौजदारी न्याय प्रतिकार्यहरू सबै मुलुकहरूमा अपनाइने घोषणा पत्रमा उल्लेख गरिएको छ । 


त्यसैगरी सार्क मुलुकहरूबिच वन्यजन्तु अपराधका सूचना आदानप्रदान र कानुनी सहयोग गर्न राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय दायित्वअनुरूप सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान, समन्वयात्मक प्रवर्धन कारबाही र फौजदारी न्याय सम्बन्धी सहयोगलाई व्यापकता दिने र सुदृढ बनाउने कुरामा सहभागी मुलुकका प्रतिनिधिहरू एकमत भएका छन् ।