रुपन्देहीः रुपन्देहीको ओमसतिया गाउँपालिका–६, नारायणपुरबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने छर्रासहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार अमनकुमार धवलको घरमा कटुवा पेस्तोल लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त प्रहरी टोलीले घरमा कानुनी प्रक्रियाअनुसार खानतलासी गरेको थियो।
खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २५ राउन्ड छर्रा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद हतियार तथा गोलीसहित प्रहरीले २३ वर्षीय अमनकुमार धवल र २० वर्षीय सुनिल केवटलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।




















