इटहरीः जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीको कमला नदीमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।
महाशाखाले अपराह्न एक सूचना जारी गर्दै, कमला नदी सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो । कमला नदीमा पानी बढ्दो क्रममा रहेकोले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा बसोबास गर्नेहरुले बुधबार बिहानसम्म सतर्कता अप्नाउन आग्रह गरेको छ ।
महाशाखाले यसअघि ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी बझाङ, बाजुरा र आसपासका जिल्ला भइ बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जानकारी दिएको थियो ।




















