विराटनगरः चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी (बटर) को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका छैनन् । भर्खरै सम्पन्न हरितालिका तिजमा दर खाने बेलादेखि नै घिउको चर्को अभाव हुँदा उपभोक्ता तथा मिठाई व्यवसायीले निकै सास्ती भोग्नु परेको थियो ।
विगतमा कोशी प्रदेशका बजारमा निजी डेरी तथा सहकारी संस्थाले प्रतिकेजी ७५० रुपियाँमा नौनी बिक्री गर्दै आएका थिए । घिउको मौज्दात पनि लाखौँ किलो रहने गरेको थियो । अहिले तिज र दसैँको मुखमा घिउ अभाव हुँदा बजारमा भाउ बढाएर प्रतिकेजी ९५० देखि एक हजार रुपियाँसम्म पुर्याइएको छ । चर्को मूल्य तिर्न तयार हुँदासमेत बजारमा घिउ पर्याप्त मात्रामा उपलब्ध छैन । सरकारी तथा निजी डेरी उद्योगसँग मौज्दात पनि न्यून मात्र रहेको पाइएको छ ।
कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तरहरा, सुनसरीका सूचना अधिकारी मेघराज लुइटेलले बजारमा देखिएको यो अभाव कृत्रिम नभई पूर्ण रूपमा वास्तविक भएको दाबी गरे। किसानस्तरमै दुध उत्पादन घटेका कारण डेरी उद्योगको मौज्दात रित्तिएको उनको दाबी छ ।
विगतका वर्षमा आफूहरूसँग डेढ सय टन (करिब डेढ लाख किलो) सम्म नौनी कोल्डस्टोरमा मौज्दात रहने गरेकामा अहिले त्यो शून्यमा झरेको लुइटेलले जानकारी दिए । उनका अनुसार सीमावर्ती नाकामा कडाइ गरिएका कारण भारतबाट आउने सस्तो वनस्पति घिउको आयात रोकिएको छ । विगतमा बजारमा वनस्पति घिउले ठुलो माग धान्ने गरेकोमा अहिले त्यो रोकिएपछि शुद्ध घिउको माग अत्यधिक बढेको र आन्तरिक उत्पादनले मात्र धान्न नसकेकाले अभाव देखिएको हुन सक्ने उनको भनाइ छ ।
यसबाहेक पहाडी भेगका साना उद्योगबाट आउने नन–पास्चराइज्ड बटरमा फ्याट कम हुने र झापालगायतका क्षेत्रमा खुलेका छुर्पी उद्योगले दैनिक ३० देखि ४० हजार लिटर दुध खपत गरिरहेकाले पनि डेरी उद्योगमा घिउ बनाउने दुध र नौनीको अभाव देखिएको हुन सक्ने निजी डेरी उद्योगीको भनाइ छ । कच्चा पदार्थको अभावकै कारण कामधेनु सहकारीको धुलो दुध उत्पादन गर्ने पाउडर प्लान्ट डेढ महिनादेखि बन्द रहेको छ ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनामा पनि घिउ र मखनको मौज्दात लगभग सकिएको छ । आयोजना प्रमुख नवीनकिशोर शर्माका अनुसार दुध सङ्कलनमा आएको गिरावटले उत्पादन प्रक्रिया नराम्ररी प्रभावित भएको हो । जेठसम्म आयोजनाले दैनिक नौ हजार लिटर दुध सङ्कलन गर्दै आएकोमा अहिले घटेर दैनिक सात हजार लिटरमा झरेको छ ।
सङ्कलित दुधबाट दैनिक करिब सात लाख रुपियाँको दुग्धजन्य पदार्थ बिक्री हुँदै आएको शर्माले जानकारी दिए । विगतका वर्षमा आयोजनासँग एक हजार टन पाउडर र आठ सय टनसम्म मखन मौज्दात रहने गरेकोमा हाल घटेर २० टन पाउडर र १० टन मात्र मखन बाँकी रहेको शर्माले जानकारी दिए । दुधको अभावले गर्दा हप्तामा दुईरतीन दिन चल्ने पाउडर प्लान्ट अहिले मुस्किलले हप्ताको एक दिन मात्र चलाउने गरिएको छ ।
बजारमा निजी क्षेत्रले घिउ लुकाएर कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशङ्कालाई आयोजना प्रमुख शर्माले अस्वीकार गरे । मखन सुरक्षित राख्न माइनस २० डिग्री सेल्सियस तापक्रमको कोल्डरुम आवश्यक पर्ने र त्यो अत्यन्त खर्चिलो हुने भएकाले कसैले पनि मखन होल्ड गरेर राख्न नराख्ने उहाँको तर्क छ । निजी डेरीले दुध आपूर्ति घटाएपछि डिडिसीको विराटनगर आयोजनामा दैनिक दुई हजार लिटरको दुधको माग बढेर छ हजार लिटरसम्म पुगेको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।




















