काठमाडौँः मुलुकमा पर्यटन र सेवाक्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित देखिएका छन् । उद्योग विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तथ्याङ्क अनुसार दुई महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन र सेवाक्षेत्रमा आएको हो ।
भदौमा मात्र १३६ परियोजनामार्फत छ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसमध्ये स्वचालित प्रणालीमार्फत १३५ वटा परियोजनाका लागि छ अर्ब २७ करोड १५ लाख रुपियाँ र साधारण प्रक्रियामार्फत एउटा परियोजनाका लागि ८० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । साउनमा १९१ परियोजनामार्पत तीन अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।
विभागका अनुसार गत साउन र भदौमा ३२८ परियोजनामार्फत ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
दुई महिनाको कुल लगानी प्रतिबद्धतामा पर्यटन क्षेत्रको हिस्सा सबैभन्दा धेरै तीन अर्ब ७४ करोड २८ लाख ५० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । यस्तै दोस्रोमा सेवामूलक २६ परियोजनामार्फत तीन अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यो कुल लगानीको २९ प्रतिशत हो ।
यस्तै उत्पादनमूलक १८ परियोजनामार्फत एक अर्ब २३ करोड ९२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै सूचनामूलक २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै ऊर्जाक्षेत्रमा एउटा परियोजनाका लागि दुई अर्ब रुपियाँ लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक उद्योगका लागि १८ वटा परियोजनामार्फत एक अर्ब २३ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै कृषिमूलक एउटा परियोजनाका लागि २० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा खनिज तथा पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिबद्धता शून्य रहेको छ ।




















