इटहरीः सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्येहर्षाहीमा युवतीको विषयलाई लिएर भएको पुरानो विवादको रिसइबी साध्न एक युवकमाथि गोली प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार साँझ बीपी चोकस्थित लक्ष्मीनारायण मन्दिरअगाडि स्थानीय २४ वर्षीय निरजकुमार यादवमाथि गोली प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि सुनसरी प्रहरीले गोली प्रहार भएको विषयमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो। तर, घाइते यादवको शरीरमा लागेको गोली आइतबार बिहान शल्यक्रिया गरी निकालिएको छ।

WhatsApp Image 2026-09-20 at 14.56.07

नोबेल शिक्षण अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रञ्जिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले यादवको शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार यादवको अवस्था अहिले मध्यम रहेको छ।

यादवको शरीरको पछाडिपट्टि कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो। घटनालगत्तै उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो।

दुई जना पक्राउ

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय ‘लाली’ भनिने जयकृष्ण यादव रहेका छन्।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा पाँचदेखि छ जनासम्मको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

‘प्रारम्भिक अनुसन्धानबाट घटनामा पाँच–छ जनाको संलग्नता पुष्टि भएको छ। तीमध्ये दुई जनालाई पक्राउ गरिएको छ। फरार रहेका अन्यको खोजी भइरहेको छ,’ डीएसपी खड्काले भने।

मोटरसाइकलमा घर फर्किंदै गर्दा गोली

प्रहरीका अनुसार निरज आफ्ना छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका थिए।

लक्ष्मीनारायण मन्दिरनजिक पुगेपछि उनीहरूमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ। गोली लागेर निरज घाइते भएपछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो भने उनलाई तत्काल उपचारका लागि विराटनगर लगिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको पछाडि युवतीको विषयलाई लिएर केही दिनअघि भएको विवाद रहेको देखिएको छ। युवतीको विषयमा युवाहरूबीच विवाद भएपछि त्यसैको रिसइबीका कारण घटना गोली प्रहारसम्म पुगेको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

डीएसपी खड्काले घटनाको कारण पुरानो रिसइबी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

‘घटना पुरानो रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। युवतीको विषयलाई लिएर केही समयअघि युवाहरूबीच विवाद भएको भन्ने जानकारी आएको छ। थप कुरा पत्ता लगाउन अनुसन्धान भइरहेको छ,’ उनले भने।

हतियारबारे अनुसन्धान जारी

प्रहरीका अनुसार घटनास्थलबाट प्राप्त प्रमाण तथा घाइतेको शरीरबाट निकालिएको गोलीको परीक्षणलगायतका आधारमा घटनामा प्रयोग भएको हतियारको प्रकृति यकिन गरिनेछ।

प्रहरीले गोली साना हतियारमा प्रयोग हुने प्रकृतिको देखिए पनि प्रयोग भएको हतियार र गोलीको वास्तविक प्रकृतिबारे प्रयोगशाला परीक्षणपछि मात्रै यकिन हुने जनाएको छ।

घटनामा संलग्न भनिएका अन्य व्यक्तिको खोजी तीव्र पारिएको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, युवतीको विषयमा भएको भनिएको पुरानो विवाद, घटनाको योजना, गोली प्रहारमा संलग्न व्यक्तिको भूमिका तथा प्रयोग भएको हतियारका विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।